सेनाको व्यारेक नै माइतीघर भएपछि रामपुरका महिला दंग
सीता डोटेल,
प्रकाशित २०७५ भदौ २३ शनिबार
1.1k
Shares
पाल्पा। रामपुरमा सामाजिक सद्भावका लागि तीज कार्यक्रम सम्पन्न भएको छ । राज्य र आम नागरिकको सामिप्यता तथा भाइचाराको सम्बन्ध प्रगाढ गराउने उद्देश्यले नारीहरुको महानचाड तीजको अबसरमा गोरखदल गण रामपुरले सामाजिक सद्भाव दर्शाउने तीज कार्यक्रम गरेको हो।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले समाजका हरेक क्षेत्र पेशा व्यवसायको जिम्मेवारी फरक फरक भएपनि नेपालीको नाता सबैभन्दा पहिलो रहेको बताए। देशको सुरक्षामा खटिएका सेनाहरुप्रति आम समुदायको दृष्टिकोणलाई चिर्दै आम समुदायसँग घुलमिल भएर सामाजिक कार्य र समाजमा स्थायित्व कायमका लागि गरिएका कार्यक्रमले सम्बन्ध सुमधुर बनाउने उनको भनाई थियो।
नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले महिलाको पर्वमा गोरखदल गणले माइतीको भुमिका निर्वाह गर्दै सेना र समुदायको सम्बन्ध यस्ता कार्यक्रमले परिभाषित गरेको उल्लेख गरिन।
गोरखदल गणका गणपति शुकदेव गिरीले महिलाको संरक्षणले नै हरेक पुरुष आफ्नो खुट्टामा उभिन सकेको स्मरण गर्दै धर्ती र नारी बिनाको समाजको परिकल्पना गर्न नसकिने बताए। धर्ती माता जस्तै चेलीहरु भएको उल्लेख गर्दै गिरीले भने–त्यसैले पनि हरेक दाजुभाई र माइतीको लागि चेलीहरुको महत्व भएजस्तै तीजपर्वमा समाजमा रहेका दाजुभाई दिदीबहिनीको भाइचाराको सम्बन्धका लागि भेटघाट कार्यक्रम गरिएको बताए।
सोही अबसरमा सेनाले आफ्नो नाच गान प्रस्तुत गरेको थियो भने नबदुर्गा माबिका बिद्यार्थीले तीजका गीत सहित रमाइलो नाच देखाएका थिए । सेनाले स्थानिय महिलाहरुलाई व्यारेकमा तीज मनाउन बोलाएपछि उनीहरु पनि खुसीले दंग देखिएका छन्।