सन्दीपको उत्कृष्ट बलिङका बाबजुद नेपाल हङकङसँग तीन विकेटले पराजित
एसियाकपको यात्रा सकियो
प्रकाशित २०७५ भदौ १९ मंगलबार
551
Shares
काठमाडौं । नेपालको एसिया कपको यात्रा समाप्त भएको छ । मंगलबार भएको खेलमा हङकङसँग ३ विकेटले पराजित भएसँगै नेपाल एसियाकप छनोटको फाइनलमा पुग्न नसकेको हो । गणितीय सम्भावना मात्र बाँकी रहेको अवस्थामा मंगलबार नेपालले फराकिलो अन्तरले जित हासिल गर्नुपर्ने थियो ।
नेपालले जितका लागि दिएको ९६ रनको सामान्य लक्ष्य हङकङले ३२.३ ओभर खेल्दै सात विकेट गुमाएर पूरा गरेको हो । हङकङलाई जित दिलाउने क्रममा अन्सुमन राथले ५२ रनको अर्धशतकीय पाली खेलेका थिए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन दिँदै पाँच विकेट लिए पनि त्यो जितका लागि पर्याप्त रहन सकेन । त्यसैगरी बसन्त रेग्मी र सागर पुनले पनि १/१ विकेट लिए ।
यसअघि मलेशियाको राजधानी क्वालालम्पुरस्थित वाङ्गी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन मात्र बनाउन सक्यो । अनिलकुमार साहले १५, अरिफ शेषले १८ र कप्तान पारस खड्काले १४ रन बनाउनुबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
हङकङका इहशान खानले ४ तथा तनवीर अफजल र मोहमद खानले समान २/२ विकेट लिएका थिए । यससँगै हङकङ फाइनलमा पुगेको छ । उसले ओमान र यूएईबीचको विजेतासँग खेल्नेछ ।