काठमाडौं । इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुद (एसियाड)मा नेपाललाई रजत पदक दिलाएका पाराग्लाइडिङ खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् ।
१८औँ एसियाडमा नेपाललाई पदकविहिन हुनबाट जोगाएका खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार जनही पाँच लाख रुपैयाँसहित सम्मान गरे । राखेपले खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको भनि सबैलाई सूचना गरेको भए पनि प्रधानमन्त्री उपस्थित भएनन् । टोलीले रजत जितेपछि ओलीले ट्वीटरमा बधाई दिएका थिए ।
विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापाको टोलीले पाराग्लाइडिङको टिम क्रसकन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो । मुख्य प्रशिक्षक योगेश भट्टराई तीन लाख तथा सहायक प्रशिक्षक सानुबाबु सुनुवार डेढ लाख रुपैयाको पुरस्कारले सम्मानित भए । पाराग्लाइडिङ संघले पाँच लाख रुपैयाँ पाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को २०६८ साल चैत २१ गतेको सन्चालक समिति बैठकको निर्णयअनुसार यो पुरस्कार दिइएको हो । खेलाडीहरुलाई पुरस्कृत गर्नुअघि दशरथ रंगशालाबाट बाजागाजासहित पुरस्कार वितरणस्थल राष्ट्रिय सभागृह लगिएको थियो । इन्डोनेसियामा भएको १८औँ एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाएपनि एउटामात्र पदक जित्न सक्यो ।
एसियाली खेलकुदमा नेपालले जितेको यो दोस्रो रजत हो । यसअघि, सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपालको तर्फबाट रजतपदक जितेकी थिइन् ।
प्याराग्लाइडिङ टोलीलाई बधाई दिँदै खेलकुद मन्त्री जगत कुमार विश्वकर्माले खेलकुदको विकासका लागि विभिन्न किसिमका भैतीक पूर्वाधार देखि लगानीको व्यवस्थापनमा सरकार गम्भिर बन्ने बताए । राष्टिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले नेपालका लागि ऐतिहासिक सफलता दिलाएको भन्दै प्याराग्लाइडिङका खेलाडीलाई बधाई दिँदै आगामी दिनमा प्याराग्लाईडिङले अझै राम्रो गर्ने विश्वास व्यक्त गरे ।