काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटछनोटको दोस्रो खेलमा नेपालले युएईसंग खेलिरहेको छ । क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।
युएईले आक्रामक सुरुवात गरेको छ । नेपालको बलिङ फितलो देखिएको छ । बलिङ फितलो भएकै कारण बुधबारको पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको थियो ।
नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले तीन विकेट गुमाउँदै ४८ ओभर २२४ रन बनाउँदै पूरा गरेको हो ।
यसअघि क्वालालम्पुरमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा २२१ रन बनाएको थियो । नेपालका लागि सागर पुनले शानदार पाली खेल्दै ८३ रन बनाएका थिए । त्यसैगरी ज्ञानेन्द्र मल्लले ४५ रन र आरिफ शेखले ३६ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा आएको ओमानका लागि खावर अलिले अविजित ८४ रनको योगदान दिए । जिसन मासुदले अविजित ४५ रन तथा भाइभाव वाटेगाउन्करले ४१ रनको इनिङ खेले ।
नेपालले लिग चरणमा शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।
जारी छनोटमा युएई आक्रामक देखिएको छ । युएईले पहिलो खेलमा सिंगापुरलाई २१५ रनले हराएको थियो ।
बिहिबार सिंगापुरले हङकङसंग र आयोजक मलेसियाले ओमानसंग खेलिरहेको छ ।