arrow

एसियाडमा नेपालको कुस्ती, तेक्वान्दो, उसु र कबड्डीमा यस्तो प्रदर्शन

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
1(1).JPG

जकार्ता । इन्डोनेसियामा जारी एसियाली खेलकुद एसियाडमा नेपालले राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले कुस्ती खेल पहिलो दिन नै सकेको छ । कुस्तीमा नेपालको चुनौती समाप्त भएको छ । 

कुस्तीमा नेपालबाट ३ पुरुष खेलाडीले भाग लिएका थिए । आइतबार तीनै खेलाडीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो ।


५७ केजीमा भागवत शाह तेली इरान, ७५ केजीमा सुरेश चुनारा जापान तथा ६५ केजीमा सरोज यादव मंगोलियाका खेलाडीसंग पहिलो चरणमै पराजित भए । तीनै खेलाडी १०–० ले पराजित भए । 

तेक्वान्दो –
तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङ पराजित भएका छन् । कमल र पार्वती दुवै चाइनिज ताईपेईंका खेलाडीसंग चुके ।

महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईंसंग पछि पर्यो । त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाइ घोषित भएपछि नेपाल क्वाटरफाइनलमा सीधै प्रवेश गरेको थियो । 

सोमबार महिला ५३ केजीमुनि निमा गुरुङ, ६७ केजीमुनि संगीता बस्याल र पुरुष ५८ केजीमुनि सागर गुभाजुले प्रतिस्पर्धा गर्नेछन् ।

सुटिङ –
नेपालले मिक्स टिम इभेन्टमा समग्रमा २२ औं स्थान हासिल गरेको छ । २२ राष्ट्रका खेलाडी सहभागी मिक्स टिम इभेन्टमा सुस्मिता नेपाल र सुशे चौधरीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए ।

४३६ पुर्णाङ्कमा सुस्मिताले ४०३।५ र सुशे चौधरीले ३७२।९ अंकको प्रदर्शन गरे । अब सुस्मिता र सुशेसहित कल्पना परियारले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् ।

कबड्डी –
पुरुष कबड्डीको समूह ‘बी’ को लिग खेलमा आयोजक राष्ट्र इन्डोनेसियाले नेपाललाई ३३–२९ ले हरायो । ११ राष्ट्र सहभागी पुरुष कबड्डीको समूह ‘बी’ मा नेपाल, इन्डोनेसियासहित जापान, इरान, मलेसिया र पाकिस्तान छन् । 

नेपालले मंगलबार जापान, बुधबार इरान र मलेसिया तथा अगष्ट २३ तारिखमा पाकिस्तान विरुद्ध खेल्ने कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए ।

फेन्सिङ –
फेन्सिङमा आइतबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिलाको साबर स्पर्धामा कमला श्रेष्ठ र रविना थापा पराजित भए ।

उसु –
    पुरुष थाउलोको छान् छ्वानमा नेपालका विजयी सिन्जालीले ८।२५ अंक जोड्दै समग्रमा १५ औं स्थान हासिल गरे । यो स्पर्धामा १८ खेलाडी सहभागी थिए ।

निमा घर्ती मगर १२ खेलाडी सहभागी नान् छ्वानमा १० औं स्थानमा आइन् । निमाले नान् ताउ भने सोमबार प्रतिस्पर्धा गर्नेछिन् ।

महिला सान्सौंको ५२ केजीमा नेपालकी जुनी राई भियतनाम, पुरुष ६० केजीमा नेपालका मंगलप्रसाद थारु इन्डोनेसिया तथा पुरुष ७० केजीमा नेपालका चित्रसिंह ठकुरी दक्षिण कोरियाका खेलाडीसंग पराजित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ