दाहाल यज्ञनिधिको निधनबाट सांस्कृतिक रुपान्तरणमा क्षति
प्रकाशित २०७५ साउन २६ शनिबार
635
Shares
काठमाडौं। साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन्। क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाउनु भएकामा ती संस्थाले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।
मिर्गौला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आएका दाहालको मस्तिष्काघातका कारण शुक्रबार साँझ अस्पतालमा निधन भएको थियो।
प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले दाहालले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टालाई सङ्गठित गर्दै सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान बताए। दाहाल प्रजातान्त्रिक विचारधाराका भए पनि विद्रोही र प्रगतिशील स्वभावका थिए।
नागार्जुन साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठाले दाहालले प्रतिष्ठानको सल्लाहकार तथा अध्यक्ष भई अभिभावकीय भूमिका निर्वाह गरेको र दाहालकै अग्रसरतामा लोकतान्त्रिक आन्दोलनका समयमा अनामनगरको दाहालको दैलोलाई गणतन्त्र काव्यटार घोषणा गरिएको स्मरण गरे।
दिवंगत दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहान मण्डिखाटारस्थित उनको निवास (सुधाको डिही)मा राखिने छ। भतिजाहरु विदेशबाट आएपछि उनको पार्थिव शरीर अस्पताललाई दान गर्ने वा अन्त्येष्टि गर्ने भन्नेबारे निर्णय हुने बताइएको छ। रासस