पार्टीको विधान अक्षरशः पालना गरे गुटउपगुटको अन्त्य हुन्छ : प्रकाशमान
प्रकाशित २०७५ असार ४ सोमबार
452
Shares
चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुटउपगुट अन्त्य हुने बताएका छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३ को प्रदेशस्तरीय भेलालाई सोमवार यहाँ सम्बोधन गर्दै उनले पार्टीको वास्तविकतालाई आधार मानेर कमीकमजोरी सुधार्नुपर्ने आवश्यकता औल्याए ।
प्रजातन्त्रिक पद्धति पार्टीभित्रबाट थाल्नुपर्नेमा जोड दिँदै उनले भने, “यो अवस्थामा पार्टी चल्दैन, अब विधिसम्मत पार्टी चल्नुपर्छ, गाउँदेखि केन्द्रसम्म सबै मिलेर लाग्नुपर्छ । पार्टी कमजोर हुन्छ भनेर नबोली बस्नु नै काँग्रेसका नेताहरुको कमजोरी हो । ”
वर्तमान सरकारले गरेका कमीकमजोरीलाई जनतामाझ ल्याउन संसद्मा विपक्षीको सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो ।
उक्त संघका केन्द्रीय अध्यक्ष जगतप्रसाद तिमिल्सिना, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, संघका केन्द्रीय महासचिव राजेन्द्रप्रसाद गौतम, प्रदेश उपाध्यक्ष विष्णु गौतम, प्रदेश नं ५का संयोजक मदन कट्टेल, प्रा डा तेजबहादुर केसीलगायतले कार्यक्रमलाई संबोधन गरेका थिए । भेलाले प्रदेश समितिको गठन गर्नेछ । रासस