विश्वकप सम्झदै नेता, सेलिब्रिटी, खेलाडी कसले के भने ?
प्रकाशित २०७५ जेठ ३१ बिहिबार
893
Shares
काठमाडौं । विश्वकपको हावाले संसार छोएको छ । विश्वका फुटबलप्रेमीहरुले मनपर्ने समुह र खेलाडीहरुको खुलेर समर्थन गरिरहेका छन् । विश्वकप फुटबलको प्रभाव नेपालमा पनि ठूलै परेको अनुमान अहिले विभिन्न देशको समर्थन गरेर जर्सी लगाएर सामाजिक सञ्जालमा तस्विरहरु सार्वजनिक गरिरहेका छन् ।
बिहिवारबाट सुरु हुने विश्वकप फुटबल २०१८ को बारेमा विभिन्न राजनीतिज्ञ, पूर्व खेलाडी तथा पत्रकारहरुले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा ‘रसियाको मस्कोस्थित लुजनिकी रंगशालामा आजबाट शुरु हुने फुटबलको २१ औ विश्व महासंग्राममा सहभागी सबै खेलाडी, देश र समर्थकलाई शुभकामना’ लेखेका छन् ।
नेकपाका योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा ‘रसियामा आजबाट शुरु हुने फुटबलको २१ औ विश्व महासंग्रामले विश्व शान्ति, भ्रातृत्व तथा एकता निर्माणमा ठोस योगदान दिन सकोस् सबै टीमलाई हार्दिक शुभकामना’ भनेका छन् ।
चलचित्र अभिनेत्री रेखा थापाको रोजाइमा अर्जेन्टिना परेको छ। तर उनको मनपर्ने खेलाडी भने पोर्चुगलका क्रिस्चियानो रोनाल्डो रहेका छन् । त्यस्तै अर्की अभिनेत्री केकी अधिकारीले अर्जेन्टिनाको समर्थन गर्दै ट्विटरमा तस्विर राखेकी छन् ।
नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्यले ब्राजिलको समर्थन गरेका छन् । उनले ब्राजिल सर्ट पास खेल्ने भएर पनि राम्रो लाग्ने बताएका छन् ।
पत्रकार तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य माधव चम्लागाई फेसबुकमा लामो स्टाटस लेख्छन्, ‘आजबाट बिश्वकप २०१८ रसियामा सुरु हुँदैछ । बिश्वकप हेरेको बिगत सम्झन चाहन्छु । १९९० को बिश्वकप झल्याक झुल्लुक १,२ गेम हेरेको अलिअलि याद छ, बोरा ओछ्याएको भुइँमा ब्लाक एण्ड ह्वाइट झिर्झिर आउने टिभीमा गोल कता गयो भन्दै खोजीखोजी हेरिन्थो । जेनेरेटरको तेलको पैसा लाग्छ भनेर कहिले रु २ त कहिले रु ५ उठाएर राति बसेर हेरेको यादहरु आइरहेको छ । १९९४ वल्ड कप हेर्न भनेर बेलुका ७–८ बजे निस्किएपछि साथीहरु भेला भएर भानुभक्तको ग्राउण्ड राति ११–१२ बजेसम्म अध्याँरोमा फुटबल खेल्ने र मित्र प्रकाश श्रेष्ठको घरमा भएको ब्ल्याक एण्ड ह्वाइट टिभीमा रातभरि बसेर फुटबल हेरेपछि त्यही कोठाको भुइँमा ओछ्याएको राडीमा सबै साथीहरु सुतेको यादहरु मानस पटलमा घुमिरहेका छन् । १९९४ को फाइनलको दिन भानुभक्तको ग्राउण्डमा राति १०–११ बजे फुटबल खेल्दै गर्दा पश्चिम पट्टीको स्कूलको भवन काटेर अम्लिसोबारीमा फुटबल हराउँदा सबै साथीहरु (प्रकाश श्रेष्ठ, उत्तम श्रेष्ठ, बिनोद घिमिरे, सबिन भट्टराई, कुमार सुब्वा, कुमार दर्जी, प्रमोद शर्मा, बिदुर गौतम, प्रकाश श्रेष्ठ सानो, प्रेमराज लगायत) ले जंगलभित्रको अम्रिसो पन्छाउँदै अँधेरी मध्यरातमा फुटबल खोजेका यादहरु विश्वकपले सम्झाइदिन्छ । अझ फाइनल हेरिसकेपछि राडी र बोरामा सुत्ने ठाउँ नगुगेपछि प्रमोद शर्मा भाइलगायत खाटमुनि सुतेका यादहरु अझै ताजा नै छन् । ब्ल्याक एण्ड ह्वाइट टिभीमा फुटबल हेर्नको लागि सबै साथीहरुसंग पैसा उठाएर ब्याट्रीको ब्यवस्था गर्न पैसा लिएर जाँदा पनि लच्छुदाइसंग भाडामा लिन विभिन्न सर्तहरु मानेका दिनहरु पनि ताजै छन् । बालापनका यी र यस्ता दिनहरु सम्झाउने वल्डकपका अधिकाशं खेलहरु एचडी च्यानलमा एक्लै बसेर हेर्दा भन्दा ती पुराना दिनहरु जहाँ ब्ल्याक एण्ड ह्वाइटमा एन्टेना घुमाउँदै झिर्झिर अलि अलि हटेपछि भयो भयो गोल देखियो भन्दै हेरेका दिन नै रमाइला थिए । तर पनि म सकेसम्म धेरै खेलहरु हेर्ने नै छु । मंगलबारेमा नै पुगेर हेर्न त सक्दिन तर पनि त्यसबेलाका काठमाडौमा उपलब्ध साथीहरुसंगै बसेर फुटबल हेर्ने रहर भने मेरो अझै छ ।’