मेडिकल कलेजको अवस्था नाजुक,विद्यार्थीको भविष्य अन्योलमा
प्रकाशित २०७५ जेठ १९ शनिबार
585
Shares
जनकपुरधाम। जानकी मेडिकल कलेज रमदैया भवाडी जनकपुरधामका कर्मचारी, चिकित्सक र विद्यार्थीको भविष्य अन्योलमा परेको छ। सो कलेजका कर्मचारी, चिकित्सक र विद्यार्थीप्रति कलेज व्यवस्थापन गम्भीर नभएका कारण सो अवस्था सिर्जना भएको हो। कलेजका कर्मचारी र चिकित्सकले १४ महिनादेखि तलब नपाएको र ५० महिनादेखि कर्मचारीको सञ्चयकोष भुक्तानी नगरिएका कारण कर्मचारी आन्दोलित भई कलेजका सम्पूर्ण सेवा बन्द गरी धर्नामा बसेका छन्।
कलेजका सेवा बन्द र कर्मचारी धर्नामा बसेकाले आजदेखि भनिएको परीक्षा स्थगित गरिएका कारण विद्यार्थीको शैक्षिक सत्र अन्योलमा परेको छ। सो कलेजमा ४ सय ५० कर्मचारी र ३ सय ६० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ।
कर्मचारी हकहित संरक्षण संघर्ष समितिद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा डा वीरेन्द्र झाले उक्त जानकारी गराउँदै कलेज व्यवस्थापनको उदासिनताले गर्दा कलेजको दायित्वभन्दा सम्पति कम भएको स्थिति रहेको बताए।
सो कलेजमाथि प्रभु बैँकको ऋण एक अर्ब ६० करोड रहेको छ भने ३० करोड भुक्तानी गर्न बाँकी छ भने सरकारलाई कर पनि नबुझाएको बताइन्छ। डा झाका अनुसार कलेजका प्राचार्य, मेडिकल डाइरेक्टर लगायतका जिम्मेवार व्यक्ति र सञ्चालक समितिका पदाधिकारी कतै कुनै सम्पर्क नरहेको अवस्थामा कर्मचारी, चिकित्सक र विद्यार्थीको समस्याप्रति संघीय सरकारको ध्यान जानु आवश्यक छ। रासस