युरोपा लिग फुटबलः आर्सनल बाहिरियो, उपाधि भिडन्त एथ्लेटिको र मार्सेबीच
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
453
Shares
काठमाडौं । इंगलिस क्लव आर्सनल युरोपा लिग फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लव एथ्लेटिको मड्रिडसंग १–० ले पराजित भएपछि आर्सनल बाहिरिएको हो ।
एथ्लेटिकोलाई घरेलु मैदानमा भएको खेलमा विजयी गराउन ४५ औं मिनेटमा डिएगो कोष्टाले गरेको गोल निर्णायक बन्यो । यसअघि आर्सनलको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
बिहिबार रातिको खेलपछि एथ्लेटिको मड्रिड एग्रिगेसनमा २–१ ले विजयी हुँदै फाइनलमा पुगेको हो ।
एथ्लेटिकोको अब भिडन्त फ्रेन्च क्लव मार्सेसँग हुनेछ । मार्सेले अष्ट्रियन क्लव साल्जवर्गसँग २–१ ले पराजित भए पनि एग्रिगेसनमा ३–२ को जित निकाल्दै फाइनलमा पुगेको हो । पहिलो लेगको खेलमा मार्से २–० ले विजयी भएको थियो ।
फाइनल खेल यही मे १६ तारिखमा फ्रान्सको लियों शहरमा हुँदैछ ।