त्रिविका आंशिक प्राध्यापकहरुले भने- माग पूरा नभए कक्षा बहिष्कार
प्रकाशित २०७५ वैशाख १५ शनिबार
655
Shares
काठमाडौं। नेपाल आंशिक प्राध्यापक संघले दैनिक ज्यालादरीमा काम गरिरहेका आंशिक प्राध्यापकहरुलाई मासिक ज्यालादरी अर्थात करारमा नलगे आन्दोलनमा जाने चेतावनी दिएको छ ।
शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन गरेर संघले न्युन ज्यादा दिएर सधैँभरी काममा लगाउने त्रिभुवन विश्वविद्यालयको कार्यशैलीले आफूहरु अन्यायमा परेको भन्दै नियमअनुसार प्राध्यापक नियुक्ति गर्न माग गरेको हो ।
६–६ महिनामा विज्ञापन गरेर क्याम्पसहरुमा प्राध्यापकहरु नियुक्ति गर्नुपर्नेमा आंशिक प्राध्यापक गराउने गरेकोप्रति संघले आपत्ति जनाएको हो ।
“वर्षौवर्षसम्म सेवा आयोगमा विज्ञापन नखोल्ने र हामी आंशिक प्राध्यापकहरुले दैनिक ज्यालादरीबाट मासिक ज्यालादरीमा मात्र लैजान माग गर्दा स्वतः स्थायी भन्ने अफवाह फैलाएर आंशिक प्राध्यापकहरुको इज्जत मान प्रतिष्ठामाथि खेलवाड गर्दै त्रिविले वौद्धिक शोषण गरिरहेको छ ।” संघको विज्ञप्तिमा भनिएको छ ।
विश्वविद्यालयमा हुने यसप्रकारका वौद्धिक शोषण तत्काल सदाका लागि अन्त्य गरी त्रिविमा स्वच्छ शैक्षिक वातावरण कायम गर्न र आंशिक प्राध्यापक अन्त्य गर्दै विश्व्विद्यालयमा हुने सबैखाले बेथितीको अन्त्य गर्न संघले जोडदार माग गरेको छ ।
आंशिक प्राध्यापक, त्रिवी र सरकारबिच विगतमा पटकपटक भएका सम्झौता कार्यान्व्यन गर्नसमेत संघले माग गरेको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. महेशकुमार गजुरेलले आफ्ना माग पूरा नभए आंशिक प्राध्यापकहरुले पठन–पाठन, परीक्षा लगायतका त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने कुनै पनि कार्यक्रममा सहयोग नगर्ने चेतावनी दिए ।
त्रिविले आंशिक प्राध्यापकहरुको माग पूरा गर्ने सम्बन्धमा तदारुकता नदेखाएमा २३ गते हुन गइरहेका सिनेट नै विथाल्ने चेतावनी गजुरेलले दिए । “त्यति गर्दा पनि मागप्रति त्रिवि गम्भीर नभए कडाभन्दा कडा आन्दोलनका साथै आमरण अनशनसम्म जान्छौँ ।” उनले भने ।
संघले भोली आइतबारदेखि नै त्रिविका सम्पूर्ण क्याम्पसहरुमा पठनपाठन तथा शैक्षिक गतिविधीमा असहयोग आन्दोलन गर्ने भएको छ ।
नेपाल आंशिक प्राध्यापक संघको मागप्रति नेपाल प्रगतिशिल प्राध्यापक संगठनले पनि ऐक्यवद्धता जनाएको छ । संगठनका उपाध्यक्ष प्रा.डा. कृष्णप्रसाद न्यौपाने नै पत्रकार सम्मेलनमा उपस्थित भएर आफूहरुको ऐक्यवद्धता व्यक्त गरेका थिए ।