सन्दीप लामिछानेलाई दिल्लीको जर्सी दिन सीईओ नै काठमाडौंमा
प्रकाशित २०७४ चैत ८ बिहिबार
302
Shares
काठमाडौं । एउटा खेलाडीलाई जर्सी प्रदान गर्नका लागि कुनै टिमको सीईओ अर्को देशमा आउला ? सुन्दा असम्भव जस्तै लाग्छ । तर नेपाली क्रिकेटर सन्दीप लामिछानेका लागि यो सम्भव भएको छ ।
पहिलो पटक इन्डियन प्रिमियर लिग आइपिएलमा खेल्ने अवसर पाएका सन्दीपलाई दिल्ली डेयर डेभिल्सले जर्सी दिनका लागि त्यो क्लवका सीइओ हेमन्त दुवा काठमाडौंमै आइपुगे । उनको चाहना थियो प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाटै जर्सी उपलब्ध गराउने ।
तर भाग्यमानी ठहरिए राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्ट । सन्दीपलाई दिल्लीले ३२ लाख रुपैयाँ दिएर अनुबन्धन गरेको हो । सन्दीप आइपिएल खेल्न पाउने पहिले नेपाली बनेका छन् ।
उनलाई एक नम्बरको जर्सी दिइएको छ । दिल्लीका सीइओ दुवाले सन्दीपलाई एक वर्षअघिदेखि पछ्याइरहेको र उनको बलिङ शैली सबैलाई मन परेको बताए ।
सन्दीप प्लेइङ इलाभेनमा रहेर खेल्न पाउलान् वा नपाउलान् त्यो त यसै पनि चासोको विषय भयो । सबैभन्दा ठूलो चासोको विषय त उनले सिनियर खेलाडीसंग अभ्यास गर्न पाउने छन् ।
दिल्ली काठमाडौंमै आएर सन्दीपलाई जर्सी बाँड्नु आफैमा गर्वको विषय हो । त्यतिमात्र होइन यो खेल राजनीतिले पक्कै पनि नेपालीहरुको मन जितेको छ ।