काठमाडौं। जिम्बाब्वेले नेपाललाई विश्वकप क्रिकेट छनौट प्रतियोगीतामा पराजित गरे पछि जिम्बाब्वेको क्रिकेट बारे चासो बढ्नु स्वभाविक हो।
नेपालले जिम्बाब्वेलाई पराजित गर्नसक्छ भन्ने आंकलन एकातिर थियो भने अर्को आंकलनले टेष्ट खेल्ने राष्ट्र, सातवटा विश्वकप खेलेको अनुभवी देश र एकदिवसीय क्रिकेटमा सबै टेष्ट खेल्ने देशलाई पराजित गरिसकेको जिम्बाब्वे बिरुद्ध जित्नु असंभव छ। दोस्रो आंकलन सजिलैगरि मिल्यो र नेपाल ११६ रनले पराजित भयो।
नेपाली क्रिकेटको प्रगति जुन रफ्तारमा भएको थियो र सन् २०१४मा टि-२० क्रिकेट विश्वकप पनि खेल्यो, त्यसपछि हाम्रो रफ्तारमा ब्रेक लाग्यो । हामी विश्व क्रिकेटले अति आशा गरेर हेरिएको एक क्रिकेट राष्ट्र थियौं तर हामीले उक्त आशामा खरो उत्रिन सकेनौं।
हामीसँगै खेलेर अघि बढेको अफगानिस्तान अहिले टेष्ट क्रिकेटको मान्यता पाउने पंक्तीमा तयार भएर उभीएको छ। उसँग अहिले एकदिवसीय अन्तराष्ट्रीय मान्यता रहेको छ। टि-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो जुन संभवत: धेरै लामो समयसम्म हाम्रो मिठो स्मरणमा रहने छ।
सुनौलो समय
जिम्बाब्वे तिर फर्कौं , सन् १९९२मा टेष्टको मान्यता पाएको जिम्बाब्वेको ९०को दशकको मध्य देखि नयाँ स्रहशताब्दीको सुरुवातलाई सुनौलो दशकको रुपमा लिईन्छ।
एण्डी प्लावरलाई आफ्नो समयको उत्कृष्ट विकेटकिपर ब्याट्सम्यानका रुपमा लिईन्छ। एण्डीका भाई ग्रान्ट प्लावर र मरे गुडविन राम्रा ब्याट्सम्यानका रुपमा चिनिन्थे। दुवै आफ्नो ब्याटीङको भरमा टिमलाई जित दिलाउनसक्ने खेलाडीका रुपमा चिनिन्थे।
त्यसैगरि एण्डी ब्लिगनट र हिथ स्ट्रिक राम्रा अलराउण्डर थिए। स्ट्रिक त राम्रा बलिङ अलराउण्डर थिए। त्यसैगरि अरु नामहरुमा एलिस्टर क्याम्बेल, पल स्ट्रङ, निल जोन्सन, एडो ब्रान्डेस, हेन्री ओलोन्गा आदी नामहरु बिर्सिन नहुने हुन्। यी सबै नामहरु जिम्बा्ब्वे क्रिकेटका पर्यायवाची जस्ता थिए।
जिम्बाब्वेले टेष्ट क्रिकेटमा जित हासिल गर्न शुरु गरिसकेको थियो। पाकिस्तान बिरुद्ध शृखंला पनि जितेको थियो। यो समयमा एकदिवसीय क्रिकेटमा त उत्कृष्ठ टोलीको रुपमा अगाडी बढिरहेको थियो।
'९९ विश्वकप
सन् १९९९ को क्रिकेट विश्वकपमा जिम्बाब्वे सुपर सिक्समा पुगेको थियो। अन्तिम समयमा न्युजिलयाण्ड भन्दा कम नेट रनरेटका आधारमा सेमीफाईनल पुग्न बन्चित भएको थियो। उसले पाँचौं स्थानमा चित्त बुझाउनु परेको थियो।
उक्त विश्वकपको समुह चरणमा भारतलाई तीन रनले पराजित गरेको थियो। त्यस्को लगत्तै आफ्नै छिमेकी र बलियो टोली दक्षिण अफ्रिकालाई ४८ रनले पराजित गरेको थियो।
बिस्तारै ओरालो
सन् २००३ देखि जिम्बाब्वेको क्रिकेटमा राजनीति हावी भयो र अति राजनीतिकरण क्रिकेटमा देखिन थाल्यो। छनौट प्रकृयामा नै राजनीति हुन थालेपछि एण्डी प्लावर र हेनरी ओलोन्गाले 'जिम्बा्ब्वेमा प्रजातन्त्रको मृत्यु' भन्दै कालो पट्टी लगाएर मैदानमा ओर्लिएका थिए।
तत्कालै दुवै जनालाई क्रिकेट टिमबाट निकालियो र दुवैले तत्कालै बिदेशमा शरणार्थीका रुपमा आवेदन पनि दिएका थिए।
सन् २००४मा कप्तान हिथ स्ट्रिक र अरु १४ खेलाडीले क्रिकेटमा राजनीतिको अति प्रभाव बिरुद्ध प्रदर्शन गरेका थिए। तत्कालै कप्तानलाई हटाईएको थियो।
सन् २००५मा हिथ स्ट्रिकले सनायसको घोषणा गरेपछि कप्तान बनेका तदेन्दा ताईबुले पनि खेलमा राजनीथिको अति प्रभाव, खेलाडीसँगको सम्झौता बिवादका कारण राजिनामा दिएका थिए।
सन् २०१० पछि बिस्तारै जि्बाब्वे क्रिकेट तंग्रिन थाल्यो तर आर्थिक अभावले गाँजेको क्रिकेट अहिलेसम्म पनि उल्लेख्य रुपमा तंग्रिसकेको छैन्।
जिम्बाब्वेपथ !
आईसीसीको नयाँ विश्वकप खेल्ने नियमले गर्दा १० टेष्ट खेल्ने राष्ट्रबाट अन्तिम दुईले छनौट चरण खेल्नु पर्ने हुनाले जिम्बाब्वेसँग नेपालले खेल्ने मौका पाएको हो।
नेपाली क्रिकेट पनि बोर्डको बिवादले गर्दा आजको मितीसम्म आईसीसीले माया गरेर चलिरहेको छ। नेपालले आफ्नो समस्या चाँडो सुल्झाएन भने लामो समयसम्म आइसीसीले पनि हाम्रो हात समातेर साहारा दिनु पर्ने कुनै कुरा छैन्।
संभावना भएको र राम्रो सरुवात गरेको देश भएकोले आईसीसीले टेको दिएको मात्र हो। कुनै पनि टेकोले जग कमजोर भएको घर कति दिन टिक्ला र ?
नेपाली क्रिकेट बामे सर्दै गरेको अवस्थाबाट एकै पटक कुपोषण भएर मृत्युवरण गरेको हेर्ने रहर सायदै कुनै नेपाली क्रिकेटको प्रशंसकलाई होला तर राजनीतिले बिगारेको क्रिकेट राजनीतिले नै सुधार्छ होला भन्ने आशा क्रिकेट प्रेमीहरुले राखेका छन्।
नेपाली क्रिकेट जिम्बाब्वे पथमा नहिडोस भन्ने चाहना सबैमा छ अब उक्त चाहानालाई मुर्तरुप दिन सकरातमक राजनीतिको भुमिका हुनेछ ।