नेपाली क्रिकेटको अग्नीपरीक्षा सुरु, जिम्बाब्वेसंग भिडन्त
प्रकाशित २०७४ फागुन २० आइतबार
216
Shares
काठमाडौं । नेपाली क्रिकेटको अग्नीपरीक्षा आइतबारदेखि जिम्बाब्वेमा सुरु हुँदैछ । पहिलोपटक एक दिवसीय विश्वकप विश्वकप खेल्ने र चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने आशामा जिम्बाब्वे पुगेको नेपाली टोलीका लागि यो सपना सजिलो छैन ।
नेपाली टिमका लागि हरेक बल महत्वपूर्ण छ । नेपाल १० टोली सहभागी प्रतियोगिताको समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाब्वेसंगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन् ।
नेपालले सुपर सिक्समा पुग्न सकेमात्र अगाडिको बाटो तय गर्नेछ । यसका लागि नेपालले कम्तीमा दुई खेल जित्नुपर्नेछ । यो परीक्षाको पहिलो पेपरका रुपमा नेपालले जिम्बाब्वेसंग आइतबार खेल्दैछ ।
जिम्बाब्वेले यसअघि धेरै पटक विश्वकप खेलिसकेको छ । जिम्बाब्वेले टेष्ट पनि थुप्रै पटक खेलिसकेको छ । त्यस्तो टिमसंग उसकै मैदानमा खेल्न नेपाललाई सहज छैन ।
नेपालका लागि केवल ट्रम्प कार्ड सन्दीप लामिछाने हुन् । उनले अब कसरी नेपाली टिमलाई धान्ने हुन् त्यो त आइतबार दिउँसो १ः१५ बजे सुरु हुने खेलले नै निर्धारण गर्नेछ ।
त्यसो त क्रिकेटमा असम्भव केही छैन । भारत जस्तो टिम त विश्वकपमा केन्यासंग पराजित भएको थियो भने नेपालले जिम्बाब्वेलाई जित्न के कठिन नै भयो र ।
नेपाल जिम्बाब्वेविरुद्ध पहिलो पटक खेल्दैछ । जिम्बाब्वे सन् १९८३ देखि निरन्तर विश्वकपमा सहभागी भएको छ ।
नेपालले भने नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बन्दै विश्वकप छनोटमा आफ्नो नाम लेखाएको हो ।
जब केन्या जस्तो टिमलाई हराएर नेपालले विश्वकप छनोटमा आफ्नो नाम लेखाउन सक्छ भने जिम्बाब्वे हाम्रा गोर्खाली सामु चुक्न पनि सक्छ ।
नेपाली राष्ट्रिय टोलीमा विश्वास बढ्दो छ । पछिल्लो लामो समयदेखि एकदिवसीय विश्वकप र एकदिवसीय टोलीको मान्यता आफ्नो मुख्य उद्देश्य बनाएकाले पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।
पारस खड्काको कप्तानीमा मैदानमा उत्रने नेपाली टिमले आइतबारको यो दिनलाई एउटा स्मरणीय दिन बनाउने लक्ष्य लिएको छ ।
पहिलो खेलको नतिजाले नेपाललाई अगाडि बढ्न मद्धत पुग्नेछ ।