रियाल मड्रिड भर्सेस रियाल बेटिस, ८ गोल ८ पहेंलो कार्ड, कसको गोल कसलाई कार्ड ?
प्रकाशित २०७४ फागुन ७ सोमबार
837
Shares
काठमाडौं । स्पेनिस लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन रियाल मड्रिडले रियाल बेटिसमाथि संघर्षपुर्ण जित निकालेको छ ।
रियाल बेटिसको मैदानमा भिल्लामारिनमा भएको खेलमा रियाल मड्रिड ५–३ ले विजयी भयो । ११ मिनेटमा असेन्सियोमार्फत गोल गर्दै मड्रिडले अग्रता लियो ।
३३ औं मिनेटमा मान्डीले गोल गर्दै बेटिसलाई बराबरीमा ल्याए । ३७ औं मिनेटमा नाचोले आत्मघाती गोल गरेर बेटिसलाई फाइदा पुर्याए ।
५० औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै २–२ को बराबरी गरे । ५ मिनेटमै डानियल कार्भाजालले पहेंलो कार्ड खाँदा मड्रिडलाई चस्का लाग्यो ।
४६ मिनेटमा कोभासिसले पनि पहेंलो कार्ड खाए । रामोसले गोल गरेको ५ मिनेटपछि पहेंलो कार्ड खाए । त्यसको २ मिनेटमा ग्यारेथ बेलले पनि पहेंलो कार्ड खाए ।
त्यसको २ मिनेटमा कार्को असेन्सियोले अर्को गोल गरेर मड्रिडलाई ३–२ ले अगाडि ल्याए । ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै ४–२ को स्थितिमा ल्याए ।
८१ औं मिनेटमा कासेमिरोले पहेंलो कार्ड खाए । ८५ औं मिनेटमा लियोंले गोल गर्दै बेटिसलाई ४–३ को स्थितिमा ल्याए । ९० औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै बल्ल मड्रिडलाई ५–३ ले जिताए ।
निकै तनावपूर्ण खेलमा पाँच पहेंलो कार्ड त रियाल मड्रिडले खायो । यो जितले भने जिनेदिन जिदानले खुवै राहत पाएका छन् ।
रियाल मड्रिड २३ खेलबाट ४५ अंकसहित चौथो स्थानमा पुगेको छ । २४ खेलबाट ६२ अंकको बार्सिलोना शिर्ष, ५५ अंकको एथलेटिको मड्रिड दोस्रो र ४६ अंकको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।
आइतबार राति एथलेटिकोले एथलेटिक बिलबाओलाई २–० ले हरायो । रियाल सोसिडाडले लेभान्तेलाई ३–० ले हरायो । स्पानियोल र भिल्लारियलले १–१ को बराबरी खेले ।