arrow

कपडाको बैङ्क !

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
Kambal-650x434.jpg.jpeg
तम्घास । गुल्मीमा कपडा किन्न नसक्नेका लागि क्लोथ बैंक अर्थात् कपडा घरको स्थापना गरिएको छ । विभिन्न समयमा विपद्मा परेका तथा गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि क्लोथ बैंकको स्थापना गरिएको हो । 
 
बैंकमा जम्मा भएका कपडा असहायलाई वितरण गरिनेछ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा गुल्मी उद्योग वाणिज्य सङ्घको मातहतमा रहने गरी सङ्घको कार्यालयमा क्लोथ बैंक उपसमिति गठन गरेर बैंकको सुरुवात गरिएको हो । 
 
गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव तारा भुसालले गरिबीका कारणले कपडा किन्न नसक्नेका लागि न्यानो बाँड्ने उद्देश्यले बैंकको स्थापना गरिएको बताए । गरिब असहायलाई बाँड्ने र दाताबाट सङ्कलन गर्ने गरी बैंकको स्थापना भएको भन्दै उनले भने, “क्लोथ बैंकमा अहिलेसम्म रु ९३ हजार नगद र केही कपडा जम्मा भइसकेको छ ।” “विकसित देशमा यो पुरानो कुरा भए पनि नेपालजस्तो देशका लागि यो एकदमै प्रभावकारी सहयोगको कार्यक्रम हो”, उनले भने । कपडा सहयोग गर्ने क्रममा थोत्रा लुगा सहयोग हुन सक्ने भएकाले बैंकमा पुराना लुगा भने सङ्कलन गरिने छैन । यसै हप्तादेखि बैंकले कपडा बाँड्न सुरु गर्नेसमेत जनाएको छ । 
 
यसैबीच क्लोथ बैंकलाई गुल्मेली समाज जापानले स्वेटर, टिसर्ट, भोटो, मोजा, ज्याकेट, सर्टपाइन्ट, ट्राउजर, साडी, सल, ब्ल्याङ्केट लगायतका कपडा प्रदान गरेको छ । समाजका सल्लाहकार बाबुराम भण्डारीले क्लोथ बैंकका लागि व्यक्तिगत रुपमा नगद रु ३० हजारसमेत प्रदान गरेका छन् । गुल्मीमा निकै नयाँ सोचका साथ क्लोथ बैंक खुलेको र आफूहरुलाई राम्रो लागेकाले सहयोग गरेको उनको भनाइ छ । 
 
तम्घासको पवित्रा वस्त्रालयका सञ्चालक दानबहादुर बस्नेतले पनि क्लोथ बैंकलाई ३५ थान सर्ट तथा टिसर्ट उपलब्ध गराएका छन् । उनले कपडा किन्न नसकेका लागि स्थापना भएको कपडा घरमा आफू गुल्मीकै व्यवसायी भएकाले सहयोग गरेको बताए । क्लोथ बैंकमा कपडा जम्मा हुने क्रम जारी छ । क्लोथ बैंकले नगदमा भन्दा कपडा नै किनेर सहयोग गर्न दातालाई आग्रह गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ