काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार राष्ट्रपति भवन शितल निवासमा भएको भेटका क्रममा भण्डारीले प्रधानमन्त्री शेर बहादुर देउवालाई सफलतापूर्वक चुनाव सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेकी छिन् ।
भेट पछि राष्ट्रपति कार्यालयका प्रवक्ता कूल प्रसाद चुडालले जारी गरेको विज्ञप्तीमा भेटको अवसरमा राष्ट्रपति भण्डारीले नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण कोशेढुंगाको रुपमा रहेको निर्वाचन निर्दिष्ट समयभित्रै शान्तिपूर्णरुपमा ठूलो जनसहभागिताका साथ उल्लासमय वातावरणमा सम्पन्न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राजनितिक दल, निजामती, नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरीलगायत सम्पूर्ण राष्ट्रसेवक तथा आममतदातालाई धन्यवाद ज्ञापन गरेको उल्लेख छ ।
राष्ट्रपति भण्डारीले सम्पन्न निर्वाचनबाट मुलुकमा राजनीतिक स्थिरता हुने कुरामा विश्वास व्यक्त गर्दै सामाजिक आर्थिक रुपान्तरणसहित समृद्धि हासिल गर्ने जनआकांक्षालाई सफल पार्न सबै राजनीतिक दलबीच सहमति र सहकार्यको निरन्तरतामा जोड दिनुहुँदै यस पुनीत कार्यमा आमजनताको रचनात्मक सहयोग र समर्थन रहने अपेक्षा गरेकिछन् ।