पोखरा । नेपाली कांग्रेसले प्रदेश नम्बर ४ लाई मजबुत ठानेको थियो । तर प्रदेशबाट उक्त पार्टीले प्रतिनिधिसभाका १८ मध्ये जम्मा १ सिटमा चित्त बुझाउनुपर्यो । कांग्रेस महामन्त्री शशांक कोइराला नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट विजयी भए । गण्डकी र धवलागिरीका १० जिल्लाबाट कांग्रेसले प्रतिनिधि सभामा १ जना पनि पठाउन सकेन ।प्रदेश नम्बर ४ मा धवलागिरीका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्ला पर्छन् ।
गण्डकीका, मनाङ, लमजुङ, गोरखा, तनहुँ, कास्की र स्याङ्जा र लुम्बिनीको नवपुर क्षेत्र पर्छन् । गोरखाबाट नयाँ शक्तिका बाबुराम भट्टराई, लमजुङबाट माओवादी केन्द्रका देव गुरुङ र बागलुङ २ बाट माओवादीकै देवेन्द्र पौडेल विजयी भए । बाँकी १४ सिटमा एमालेले जीत हासिल गरेको छ । प्रतिनिधिसभामा १८ मध्ये १६ सिट जितेको वाम गठवन्धनले यो प्रदेशमा खसेको सदर मतमध्ये ५१ प्रतिशत मत ल्याएको छ ।
१ सिट मात्र जितेको कांग्रेसले गठवन्धनलाई पछ्याउँदै ३९ प्रतिशत मत ल्याएको छ । यसमा नयाँ शक्तिका बाबुराम भट्टराइले ल्याएको ३१ हजार ८ सय ७ मत जोडिएको छैन । भट्टराईले ल्याएको मत जोड्दा ४२ प्रतिशत हुन आउँछ । निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर ४ का ११ जिल्लामा १० लाख ६० हजार ४ सय ३९ मत सदर भएको थियो । जसमध्ये वाम गठवन्धनले ५ लाख ४१ हजार ७ सय ४४ र कांग्रेस एक्लैले ४ लाख १८ हजार सय ७६ मत ल्याएको छ ।
हेभिवेटको हार
प्रदेश नम्बर ४ मा कांग्रेस र माओवादीका हेभिवेट नेताले हार बेहोर्नु पर्यो । लगातार ५ वटा चुनावमा जित्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका कृष्णकुमार श्रेष्ठसँग तनहुँ क्षेत्र नम्बर १ मा हान खेप्नु पर्यो । यसैगरी कांग्रेस नेता उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई एमाले स्याङ्जा जिल्ला अध्यक्ष पद्मा अर्यालले हराएकी छन् । कांग्रेस नेता एवं पूर्व मन्त्री शंकर भण्डारीले तनहुँ २ मा एमालेका केदार सिग्देलसँग हारे ।
पूर्व मन्त्री भइसकेका कांग्रेस नेता रोमी गौचन थकालीलाई मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचनले हराए । कांग्रेसमै क्रियाशील तुलाचन ६ महिना अघि मात्र एमाले प्रवेश गरेका हुन् । उता माओवादीले सुरक्षित ठानेको गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ नयाँ शक्तिका बाबुराम भट्टराईसँग हारे । पहिला वाम गठबन्धनबाट सूर्य चिह्न लिएर चुनाव लड्ने घोषणा गरेका भट्टराईलाई माओवादीले गोरखा २ नदिने भएपछि गठबन्धनबाट बाहिरिएका थिए । यसैगरी पर्वतमा कांग्रेसका अर्जुनप्रसाद जोशी र बागलु्ङमा चम्पादेवी खड्काले पनि विजयको माला पहिरिन पाएनन् ।
वाम गठवन्धको सहज सरकार
प्रत्यक्षमा ३६ र समानुपातिकबाट २४ गरी ६० सिट हुने प्रदेश ४ मा वाम गठवन्धनको अत्यधिक वहुमत हुने प्रस्ट भएको छ । प्रत्यक्षतर्फको सबै परिणाम आए पनि समानुपातिकमा स्याङ्जाको परिणाम आउन बाँकी छ । समानुपातिकमा हालसम्मको नतिजामा कांग्रेस दोस्रो नम्बरमै परेको छ । प्रत्यक्षतर्फ एमाले १७, माओवादी, ९, कांग्रेस ६, जनमोर्चा २, नयाँशक्ति १ र स्वतन्त्र १ जना विजयी भएका छन् । मनाङको प्रदेश सभा (ख) मा राजिव गुरुङले एमालेको समर्थनमा चुनाव जितेका हुन् ।
मुख्य मन्त्रीमा घम्साघम्सी
प्रदेशसभाको चुनावमा प्रत्यक्ष तर्फ २ तिहाइ भन्दा बढी मत ल्याएको वाम गठबन्धनमा ४ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि घम्साघम्सी सुरु भएको छ । लमजुङ प्रदेश ‘ख’ बाट निवार्चित एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र तनहुँ २ (ख)बाट विजयी एमाले नेता एवं प्रदेश इन्चार्ज किरण गुरुङबीच आन्तरिक प्रतिस्पर्धा सुरु भएको हो । प्रदेश इन्चार्ज भएका हिसाबले आफू प्रदेश मुख्यमन्त्रीको स्वाभाविक दाबेदार भएको र आफू नै पार्टीका तर्फबाट मुख्यमन्त्री बन्ने किरणले दाबी गरेका छन् । एमाले स्थायी कमिटी सदस्य उनी पार्टीको वरीयतामा पृथ्वी सुब्बाभन्दा माथि छन् । उनले पार्टी प्रदेश कमिटीको इन्चार्ज नै प्रदेशको संसदीय दलको नेता हुने र त्यसैका आधारमा मुख्यमन्त्रीको उम्मेदवार रहने तर्क गरेका छन् ।
पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ पनि आफू मुख्यमन्त्रीको उम्मेदवार बन्नेमा ढुक्क देखिन्छन् । चुनावममा भोट माग्दा उनले मुख्यमन्त्री बनेर प्रदेशकै नेतृत्व गर्ने योजनालाई प्राथमिकता दिएका थिए । मुख्यमन्त्री हुनकै लागि आफू केन्द्रीय राजनीति छाडेर प्रदेशमा आएको बताए । उनले भने,‘प्रदेशको सांसद मात्र बन्न म चुनाव उठ्नुको अर्थ थिएन, म प्रतिनिधिसभामै उठेर सहजै जित्थें ।’
३ महिलाको जित
प्रदेश नम्बर ४ मा प्रतिनिधि र प्रदेश सभा गरी ३ महिला विजयी भएका छन् । जित्ने ३ नै जना वाम गठबन्धनका हुन् । प्रतिनिधि सभामा स्याङ्जा २ बाट एमाले नेतृ पद्मा अर्याल विजयी भएकी छन् । उनले वहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई हराउन सफल भइन् । प्रदेशसभातर्फ तनहुँ १ बाट माओवादी नेतृ तथा बिना विभागीय मन्त्री आशा कोइराला कांग्रेसका युवा नेता प्रदीप पौडेललाई ५ मतले हराउँदै विजयको माला पहिरिन सफल भइन् । पूर्व राज्य मन्त्री एवं एमाले नेतृ नरदेवी पुन म्याग्दी प्रदेश (ख) बाट विजयी भएकी छन् ।
कांग्रेसले प्रदेश नम्बर ४ मा प्रतिनिधिसभा तर्फ र प्रदेश सभामा १/१ महिलालाई उम्मेदवार बनाएको थियो । बागलुङ १ बाट उठेकी उनी एमालेका सूर्यप्रसाद पाठकसँग पराजित भइन् । प्रदेशसभाका कांग्रेसले कास्की क्षेत्र नम्बर ३ को (क) निवर्तमान सांसद शारदा पौडेललाई उठाएको भए पनि माओवादी केन्द्रका रामजीप्रसाद बराल(जीवन)सँग उनी पराजित भइन् ।