कञ्चनपुरमा बाम गठबन्धनलाई काँग्रेसका लेखक भारी हुँदै
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ मंसिर २३ शनिबार
228
Shares
पुनर्वास,कञ्चनपुर । एकीकृत नेकपा एमाले र माओवादी केन्द्रबीच एउटै प्यानल बनाएर प्रतिनिधि सभा र प्रदेश सभामा होमिएको कम्युनिस्ट गठबन्धनका उम्मेदवारहरु कञ्चनपुरका अन्य निर्वाचन क्षेत्रमा अग्र स्थानमा रहेपनी जिल्लाको पश्चिमी ३ नम्बरमा भने काँग्रेसका उम्मेदवार रमेश लेखक सामु निरीह बन्दै गएको छ ।
गठबन्धनको गाँठोमा बाधिएका दुई कम्युनिस्ट पार्टीका साझा एमाले तर्फबाट उम्मेदवार बनेका दिपक प्रकाश भट्ट नेपाली काँग्रेसका प्रभावशाली नेता एवं निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार रमेश लेखकका सामु निरीह देखिएका छन । फराकिलो मतान्तरले बिजयी हुने उद्घोषका साथ बामगठबन्धन चुनावी संग्राममा होमिए पनि कञ्चनपुरका अन्य निर्वाचन क्षेत्र भन्दा ३ नम्बरमा भने बाम उम्मेदवार भट्ट कमजोर देखिन थालेका छन् ।
शनिबार बेलुका सवा ५ बजे सार्वजनिक मतपरिणाम अनुसार बाम उम्मेदवार दिपक प्रकाश भट्टको ९६४६ मत रहेको छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखकले मतान्तर घटाउँदै ९६३२ मतमा पुगेका छन् । बेलुका सवा ५ बजेको सार्वजनिक परिणाम अनुसार बाम उम्मेदवार भट्ट र काँग्रेस उम्मेदवार लेखक बिचको मतान्तर जम्मा १४ रहेको छ ।
बाम उम्मेदवार भट्ट र काँग्रेस नेता बीच रोमाञ्चक चुनावी भीडन्त भएको कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा ८७,१२५ मत संख्या भए पनि जम्मा ५६,५८९ मत मात्रै खसेको थियो । पश्चिमी भेगमा रहेको महाकाली नगरपालिकाको मत गणना पछि अहिले जिल्ला सदरमुकाम भिमदत्त नगरपालिकाको मत गणनाको कार्य शुरु भएको छ । न्यून जनशक्तिका कारण कञ्चनपुरमा मतगणना सुस्त बनेको छ ।