कञ्चनपुर । दोस्रो चरण अन्तर्गत कञ्चनपुर हुने मतदानका लागि मतदाता आतुर रहेका छन् तीनओटै निर्वाचन क्षेत्रका मतदातामा निर्वाचन कहिले आउला भन्ने छटपटी बढ्दै गएको छ । तीनै निर्वाचन क्षेत्रमा पुरुष भन्दा महिला मतदाता संख्या नै बढी रहेकाले कञ्चनपुरमा नेताको भाग्यको फैसला महिलाको हातमा रहने छ ।
कञ्चनपुरका ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्यका लागि ६४ चुनावी मैदानमा उत्रेका थिए । अब बिहिबार कञ्चनपुरका ९ नेताको भाग्य ब्यालेट भित्र हुने छ । कञ्चनपुरमा समेत निर्वाचनको तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले तीनै क्षेत्रमा निर्वाचनको तयारी पुरा भएको जनाएको छ । कञ्चनपुरका सबै मतदान स्थलमा निर्माणको सम्पूर्ण तयारी पुरा भएको हो । मंगलबार र बुधबार दुई दिनसम्म मतदान स्थलमै परिचय पत्र समेत वितरण भएका थिए । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशब सिह भण्डारीले नयाँ र छुटपुटलाई परिचय पत्र वितरण भएको बताए ।
१ सय ३२ निर्वाचन स्थलका ३२० मतदान केन्द्रमा २ हजार ५६० कर्मचारी खटिएका छन् भने सबै निर्वाचन केन्द्रमा १ हजार २८० स्वमसेवक समेत खटिएका छन् । ‘कञ्चनपुरका सबै मतदान स्थलमा निर्वाचनको पुर्ण तयारी भएको छ, ‘निर्वाचन अधिकारी भण्डारीले भने, ‘ढुक्क भएर मतदान गर्नुहोस ।’ निर्वाचनका लागि स्थानीय प्रशासनले कञ्चनपुरमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाएको छ । मतदान पुर्व नै स्थानीय प्रशासनले सबै सुरक्षा निकायलाई परिचालन गर्दै कञ्चनपुरको सुरक्षालाई बलियो बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकास बहादुर चन्दले निर्वाचनलाई मध्य नजर गर्दै कञ्चनपुर प्रहरी र सबै सुरक्षा निकायको समन्वयमा जिल्लाको उच्च सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनका अनुसार सोमबारदेखि नै सबै मतदान स्थलमा सुरक्षाकर्मी खटिएका छन् । ‘सबै मतदान स्थलको सुरक्षाकर्मीले घेराबन्दी गरेको छ, ‘उनले भने, ‘मतदान स्थलको सुरक्षा भरपुर बनाएका छौँ ।’
मतदान स्थल लगायत मतदाताको सुरक्षाका लागि समेत प्रहरीले मोवाईल टोली मार्फत सुरक्षा प्रदान गरिरहेको उनले बताए । यस्तै सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलले संयुक्त गस्ती गरेका छन् । गाउँ गाउँमा प्रहरी सशस्त्र प्रहरी बल नेपाली सेनाले गस्ती समेत गरिरहेका छन् । संस्कास्पद बस्तु, व्यक्ति तथा समुहको खानतलासी बढाएको छ । कञ्चनपुरमा पुरुष भन्दा महिला मतदाता बढि छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार पुरुष भन्दा महिला मतदाताको संख्या बढि छ ।
कञ्चनपुरमा झण्डै ८ हजार बढि महिला मतदाता रहेका छन् । पुरुष भन्दा ७ हजार ९२८ बढि महिला मतदाता रहेका हुन् । निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार १ लाख ३६ हजार ४५१ महिला र १ लाख, २८ हजार ५२३ पुरुष गरी कुल कञ्चनपुरमा जम्मा २ लाख, ६४हजार ९७५ मतदाता छन् । तीनै निर्वाचन क्षेत्रमा पुरुष भन्दा महिला मतदाता संख्या नै बढि छ । निर्वाचन क्षेत्र नम्बर १ मा २ हजार १५५, २ मा ३ हजार ३२० र ३ मा २ हजार ४५३ बढी महिला मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव सिह भण्डारीले पुरुष रोजगारी, अध्ययन लगायतका सिलसिलामा जिल्ला, देश बाहिर भएका कारण पनि महिला मतदाता संख्या बढि भएको बताए । निर्वाचन शान्तिपुर्वक सम्पन्न गराउनका लागि निर्वाचन आयोगले सबैमा आग्रह समेत गरेको छ ।