बुटवलको सभाबाट कांग्रेस नेताहरुको एउटै स्वर : ‘जनताले कम्युनिष्ट शासन अस्वीकार गरिसके’
प्रकाशित २०७४ मंसिर १८ सोमबार
387
Shares
बुटवल। नेपाली कांग्रेसका नेताहरुले नेपाली जनताले कम्युनिष्ट शासन अस्विकार गरिसकेको दावी गरेका छन् ।
चुनाव प्रचारको अन्तिम दिन सोमबार बुटवलमा आयोजित बृहत् चुनावी सभामा बोल्दै नेताहरुले तानाशाही कम्युनिष्ट व्यवस्थातिर जान खोजेको बाम गठबन्धन केही दिनमै फ्लप हुने दावी गरेका हुन् ।
चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले मुलुकको आर्थिक समृद्धि र राष्ट्रिय एकताको लागि नेपाली कांग्रेसको जित अनिवार्य भएको बताए ।
उनले नेपाली काँग्रेसले ४८ सालमा लिएको आर्थिक नीतिकै कारण मुलुक अहिलेसम्म चलिरहेको दावी गर्दै भने,“मूल्य अभिबृद्धि कर, आयकरलाई सुधार लगायत कार्यक्रम ल्याउदा बिरोध गर्ने कम्युनिष्ट पार्टीहरुले आफूहरुले सरकार चलाउँदै त्यसैलाई निरन्तरता दिएका छन्,उनीहरुको एजेण्डा नै छैनन् ।’ काँग्रेसका नेताहरुले बाम गठबन्धनको स्पष्ट नीति नभएका कारण देशको समृद्धि सम्भव नभएको दावी गरे।मुलुकको आर्थिक समृद्धिका लागि अनेपाली काँग्रेसको जित अपरिहार्य रहेको नेताहरुले बताए ।
नेपालका कम्युनिष्टहरुले बाहिर बहुदलीय लोकतन्त्रको नारा जपे पनि भित्री रुपमा एकदलीय साम्यवादबाट निर्देशित भएको रहस्य सार्वजनिक भैसकेकोले लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि नेपाली काँग्रेसको विकल्प नभएको आमसभाका बक्ताहरुको दावी थियो ।
'लुटको धन फूपूको श्राद्ध’पूर्व अर्थमन्त्री समेत रहनुभएका डा महतले भने,‘अर्थतन्त्र सुधार गर्ने काम कता हो कता, जथाभावी मुलुकको ढुकुटी रित्याउने मात्रै काम कम्युनिष्टले गरे ।’
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को अन्तिम सभालाई संबोधन गर्दै पार्टीको निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजक बालकृष्ण खाँणले नेपाली काँग्रेसलाई सिध्याउन खोज्दा नेपालका राणा र राजा आफै सिद्धिएको उदाहरण स्मरण गराउँदै नेपाली काँग्रेसलाई सिध्याउन खोज्ने शक्ति आफै समाप्त भएर जाने दावी गरे।
एमाले र माओवादी मिलेर मुलुकमा कम्युनिष्ट शासन चलाउन खोजेको जिकिर गर्दै पूर्व मन्त्री समेत रहनुभएका नेता खाँणले कम्युनिष्ट शासनलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री खाँणले नेपाली काँग्रेसले जित्दा ५ नम्बर प्रदेशको राजधानी रुपन्देही बन्ने बताउँदै कांग्रेसले हार्दा बुटवलले राजधानी गुमाउने दावी गरे।
उनले नेपाली काँग्रेसले जिते रुपन्देहीलाई पाँच नम्बर प्रदेशको मात्रै नभएर मुलुककै आर्थिक केन्द्रका रुपमा बिकास गर्ने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तैगरी उद्योगी तथा नेपाली काँग्रेसका समानुपातिकका उम्मेदवार विनोद चौधरीले अवको राजनीति आर्थिक क्रान्तिको लागि हुने चर्चा गर्दै आर्थिक क्रान्तिको राजनीतिको नेतृत्व नेपाली काँग्रेसबाट मात्रै सम्भव भएको बताए ।
उनले नेपाली काँग्रेसले २०४८ सालमा लिएको खुला अर्थनीतिका कारण मुलुक अहिलेसम्म चलेको बताउँदै मुलुकको दीर्घकालिन अर्थतन्त्र सुधारकालागि नेपाली काँग्रेसको जित आवश्यक रहेको दावी गरे।
राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य तथा प्रवक्ता प्रदिप उदयले मुलुकको समृद्धि र बिकासका लागि नेपाली काँग्रेसले नै जित्नुपर्ने बताए ।
उनले आफ्ना नेता कार्यकर्तालाई प्रत्यक्ष तर्फ निसंकोच नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै समानुपातिकमा गोलाकार भित्रको हलोमा मतदान गर्न आह्वान गरेका थिए ।
सोही कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुणनिधि भूसाल सहित एमाले, माओवादी केन्द्रबाट पार्टी परित्याग गरि सयौं युवा नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
उनीहरुलाई नेपाली काँग्रेसका नेताहरुले पार्टी सदस्यता प्रदान गरि पार्टी प्रवेश गराए । कांग्रेस प्रवेश गर्दै भूसालले एमाले र माओवादीको गठबन्धन ‘बाम नभएर खाम गठबन्धन’ भएको आरोप लगाउँदै बाम गठबन्धनले मुलुकमा कहिल्यै पनि निकास दिन नसक्ने जिकिर गरे।
उनले विपक्षी उम्मेदवार विष्णु पौडेल कमिसनको खेल र झुटको राजनीतिमा पोख्त भएको जिकिर गर्दै नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आह्वान गरे।
कांग्रेसले सोमबारै रुपन्देहीको बुटवल, भैरहवा र मर्चबारको मझगावामा बिशाल चुनावीसभा गरेको छ ।