काठमाडौँ । “समाजसेवा गर्ने अनेकौँ तरिका छन्,तीमध्ये राजनीतिलाई सेवाको सर्वोत्तम माध्यम ठानेर म राजनीतिमा होमिएको हुँ ।” आसन्न निर्वाचनमा प्रदेश २(ख)का उम्मेदवार देवरत्न डंगोलले घरदैलोका क्रममा आफू राजनीतिमा आउनुको कारण यसरी स्पष्ट पारे ।
उनले राजनीतिलाई पेशा वा व्यवसाय नभई जनताको निःस्वार्थ सेवा गर्ने माध्यमका रुपमा लिएको बताए ।“म जनताको सुख,दुःखमा साथ दिने मान्छे,उनीहरुका समस्या र पीडा बुझेर प्राथमिकताका आधारमा काम गर्छु ।”उनले भने–“जनता मेरा भगवान हुन्,म उनीहरुको सेवक ।तसर्थ,चौबीसै घण्टा खटेर विशुद्ध ढंगले नागरिकको सेवा गर्दै आफ्नो क्षेत्रको विकास गर्छु ।”आफूलाई पद प्रतिष्ठा सम्पत्तिको कुनै मोह नभएको बताउने डंगोलले जितेमा विकासको लहर नयाँ शिराबाट सुरु गर्ने जानकारी दिए ।
नेपाली कांग्रेस नागार्जुन नगर समिति सदस्य श्रीकृष्ण बस्नेतले डंगोलको जीत सुनिश्चित रहको बताउँदै उनले यस नगरपालिकाको विकासका लागि हालसम्म काम गर्ने अवसर नपाएको बताए ।डंगोलले जितेपछि यस नगरपालिकाका नवनिर्वाचित मेयरसँग मिलेर यहाँका समस्या समाधान गर्ने बताए ।
नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले नगरको विकासमा डंगोलको योगदान महत्वपूर्ण रहेको बताउँदै उनको सहयोगमा नगरको मुहार फेर्न सकिने बताए ।