दार्चुला - कञ्चनपुर सम्पर्क समितिद्वारा काँग्रेस उम्मेदवारलाई जिताउने प्रतिबद्धता
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर १८ सोमबार
181
Shares
कञ्चनपुर । नेपाली काँग्रेस निकट दार्चुला–कञ्चनपुर सम्पर्क समितिले आसन्न निर्वाचनमा कञ्चनपुर जिल्लामा काँग्रेसका उम्मेदवारलाई जिताउने प्रतिबद्धता गरेका छन् । ७ नम्बर प्रदेश दार्चुला पुख्र्यौली घर भई कञ्चनपुर बस्दै आएका तथा कञ्चनपुरमा स्थायी बसोबास मतदाताहरुले सोमबार एक कार्यक्रम गर्दै कञ्चनपुरका ३ वटै क्षेत्रमा काँग्रेसलाई जिताउने घोषणा गरेको अध्यक्ष दानसिंह धामीले बताए ।
दार्चुला जिल्लामा मंसिर १० गते निर्वाचन सम्पन्न भईसके पछि त्यहाँका काँग्रेसी नेता कार्यकर्ता कञ्चनपुर आएको बताउँदै अध्यक्ष धामीले आ–आफ्नो क्षेत्रमा खटिएर सम्पूर्ण दार्चुलेलीवासीहरुलाई काँग्रेसलाई जिताउन आग्रह गरेको बताए । होटल ओपेरामा एक कार्यक्रमको आयोजना गरी कञ्चनपुर भरीका दार्चुला वासीहरुलाई काँग्रेसको पक्षमा मत बटुल्न वडा र टोलमा समिति बनाएर कामको जिम्मेवारी समेत तोकिएको धामीको भनाई छ ।
सोमबार आयोजना गरिएको भेलामा प्रमुख अतिथी कञ्चनपुर क्षेत्र नं। ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक रहनु भएको थियो । भेलामा बोल्दै नेपाली काँग्रेसका नेता रमेश लेखकले अहिले लोकतन्त्र रक्षाको लडाई भएकाले क्षेत्रीयता भन्दा माथि उठेर काँग्रेसको पक्षमा मत हाल्न आग्रह गरेका छन् । बाम गठबन्धनले काँग्रेस विकास विरोधी पार्टी हो भनेर आरोप लगाएका छन् लेखकले भने, अहिले लोकतन्त्र खतरामा छ, काँग्रेस विकास प्रेमी पार्टी हो तर संविधान निर्माण गर्नु भएकाले विकासात्मक कार्यमा केही सुस्तता आएको हो ।
यस्तै लेखकले ७ नं। प्रदेशको विकासका लागि आफूले पनि भन्दा बढी कसैले पनि गर्न नसकेको दावी गरेका छन् । यस अघि पनि ४ वटै निर्वाचन क्षेत्रबाट काँग्रेसले चुनाव जितेको र काँग्रेसकै अगुवाईमा विकास कार्य भएकाले यस पटकको निर्वाचमा समेत कञ्चनपुरका सम्पूर्ण मतदाताले नेपाली काँग्रेसलाई भोट दिने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा बोल्दै नेता लेखकले आफूले कहिले पनि दार्चुला, बैतडी भनेर विभेद नगरेको बताएका छन् । दार्चुला पुख्र्यौली घर भएका सबैलाई नागरिकलाई समान व्यवहार गर्ने तथा समान अवसर दिने कुरामा म कही चुकेको छैन लेखकले भने । यसैगरी दार्चुला सम्पर्क समितिले कञ्चनपुरमा बसोबास गर्दै आएका दार्चुलेली प्राध्यापक, कर्मचारी, विद्यार्थी, तथा पत्रकारहरुलाई समेत काँग्रेसको पक्षमा मत बटुल्न अपील गरेको छ ।