arrow

प्रधानमन्त्री देउवा वाणी –‘तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ’ (विजयकुमारको अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
Sher-Bahadur-Deuba-1.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा हतारोमा थिए तर मुहारमा प्रसन्नता थियो । वाकपटुता देउवाको शक्ति आधार होइन । उनी छोटो र सूत्रमा कुरा गर्न रुचाउँछन्, गिरिजाप्रसाद कोइरालाझैं । त्यसमाथि निर्वाचनको मौन अवधि नजिकै आइसकेको सन्दर्भमा देउवा बढीभन्दा बढी कार्यक्रममा सहभागी हुन चाहन्थे । त्यसैले मंसिर १७ गते धनगढीमा हामीले उनलाई सीधै विषय प्रवेश गराउने प्रश्नबाट संवादको थालनी गर्यौं ।

दोस्रो चरणको मतदान नजिक आउँदै गर्दा कस्तो महसुस गर्दै हुनुहुन्छ ?
ठूलो सन्तोषको अनुभव गर्दै छु । हामीले जुन संविधान बनायौं, यो एक समावेशी संविधान हो । यसमा मधेसी, महिला, दलित, आदिवासी, जनजाति आदि सबैलाई आरक्षण दिइएको छ । हाम्रो यो संविधान पूर्ण कार्यान्वयनको चरणमा पुगेको छ । स्थानीय निर्वाचन सम्पन्न भइसक्यो । अब केन्द्र र प्रदेशको निर्वाचन पूरा हुँदै छ । यसका साथै नेपालमा राजनीतिक संक्रमणको युग सफलतापूर्वक रूपान्तरण हुँदै छ ।

केही समय अगाडिसम्म ‘देउवाले चुनाव गराउँदैनन्, गराउन सक्दैनन्, चुनाव सार्ने षड्यन्त्र गर्दै छन्, अयोग्य हुन्’ भन्नेहरू पनि थिए । निर्वाचन साँच्चिकै नभएको भए अपजसको भार तपाइँलाई बोकाइने थियो । तर, आज दूरगामी महत्वका निर्वाचनहरू सम्पन्न गराएको स्वाभाविक जस पनि तपाइँलाई  दिन कन्जुसी भएको जस्तो लाग्दैन ?

हेर्नुस्, जस अपजसका लागि काम गरेको होइन तर पनि अलिकति दुःख लाग्छ । निर्वाचन गराउँदै छ भन्ने पूरापूर थाहा भएका विपक्षी नेताले समेत ‘शेरबहादुर चुनाव सार्दै छ’ भन्ने झुटा प्रचार गर्दै हिँडे । इतिहासले मूल्यांकन गर्ला, गणतान्त्रिक नेपालको संक्रमणकाल समाप्त गर्ने निर्वाचनहरू कसले गरायो । हुन त यो कुनै नयाँ कुरा पनि होइन । २००७, २०४६, २०६२÷६३ का सबै परिवर्तनहरू हाम्रै नेपाली कांग्रेस पार्टीले निर्णायक भूमिका गरेपछि भएका त हुन् । अहिलेको घटना पनि त्यसै ऐतिहासिक शृंखलाको नयाँ अध्याय हो । अब नेपाल कसैले खोस्न नसक्ने लोकतन्त्रको युगमा प्रवेश गरेको छ।

मिडियासँग कुनै गुनासो छ ?
छैन । डेमोक्रेसी हो । लागेको विरोध गर्न पाइन्छ । तर, विरोध सही नभए इतिहासले त्यसलाई पखालिदिन्छ ।

कांग्रेसलगायत नेपालका अन्य ठूला दलहरू संघर्ष गर्न सक्ने तर सत्तामा पुगेपछि ‘डेलिभरी’ चाहिँ गर्न नसक्ने रूपमा पनि चित्रित छन् । कुनै टिप्पणी ?

(अलि झर्कंदै) कसले भन्यो कांग्रेसले डेलिभरी गरेन भनेर । अहिले जसरी संविधान अब पूर्ण कार्यान्वयनको चरणमा पुगेको छ, के त्यो डेलिभरी होइन ? यो भन्दा ठूलो डेलिभरी के हुन्छ ? तपाइँ हिजो साँझ काठमाडौंबाट आएर अहिले बिहान अन्तर्वार्ता गरेर आजै दिउँसो काठमाडौँ फर्कनुहुन्छ । हवाई क्षेत्रको विकास नभएको भए यो सम्भव थियो ? कसले गर्यो हवाई नीतिमा परिवर्तन ? थाहा छ तपाइँलाई बाटो घाटो, स्वास्थ्य, शिक्षा, सञ्चार, कृषि, उद्योग, व्यापार, बैंक, विभिन्न सेवा यी सबै क्षेत्रमा यसकारण विकास सम्भव भयो किनभने उदारीकरणको नीति हामीले ल्यायौं ।

होइन भने आज त्यही एउटा आरएनएसीको टिकट लाइनमा हुनुहुन्थ्यो तपाइँ । यतिका टिभी, रेडियो, अखबार कहाँबाट आए ? आकाशबाट झरेका त होइनन् । हाम्रै उदार नीतिका परिणाम हुन् । यही राजमार्गका २२ वटा पुल कसले बनायो, हाम्रो पालामा बनेको होइन रु हो, राजनीति ट्र्याकमा नभएकाले गर्नुपर्ने जति सकिएन । बीचैमा माओवादीले हिंसा नमच्चाएको भए देश कहाँ पुगिसक्थ्यो । अब हुन्छ विकास । हेर्दै जानुस् ।

स्वास्थ्य क्षेत्रको विकासको कुरा गर्दा डा। गोविन्द केसीको माग सम्बोधन गर्न तपाइँको सरकारले ल्याएको अध्यादेशबारे कुनै टिप्पणी ?

सुरुमा त मैले यस विषयमा कुरा अलि बुझ्या थिइनँ । पछि बुझ्दै जाँदा उहाँका कतिपय भनाइ ठीक लाग्यो ।

अहिले निर्वाचनको दौरानमा भएका हिंसात्मक गतिविधिलाई कसरी हेर्नुभएको छ ? नियन्त्रण गर्न किन सकिएको छैन ?

नियन्त्रण त भइराख्या छ नि ! बुझ्नुपर्ने कुरा के छ भने नेपालमा कोही न कोही यस्तै तत्व सधैँ आइराख्छ । कहिले के नाममा, कहिले के नाममा । अब चुनाव पछि सर्वदलीय सहमति गरेर एउटा फैसलामा पुग्नै पर्छ, यस्ता गतिविधिको सामना कसरी गर्ने । कि बार्ता गर्नु पर्‍यो कि मुकाबिला ।

कुन–कुन विषयमा नेपालमा अब सर्वदलीय सहमति हुनुपर्छ ?

पहिलो, हिंसा हत्याका विषयमा ।

विदेश नीतिको मामिलामा ?
विदेश नीतिका सम्बन्धमा मेरो प्रस्ट धारणा छ । नेपालको राष्ट्रिय स्वार्थ र नेपालीको हित केमा छ भन्ने कुरा सबैभन्दा पहिला परिभाषित हुनुपर्छ । भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा छ । यसबाहेक अन्य मित्रराष्ट्रहरू पनि छन् ।

भारत र चीन दुवैलाई नेपालले किन साँचो अर्थमा आश्वस्त तुल्याउन सकेको छैन ?
आश्वस्त पार्नुपर्छ । अर्को कुनै बाटो नै छैन । मलाई लाग्छ, यस विषयमा पनि अब नेपालका राजनीतिक दलबीच साँचो अर्थको राष्ट्रिय सहमति हुनुपर्छ ।

के आजको दिनमा छिमेकी राष्ट्र हामीसँग पूरा ढुक्क छैनन् ?

त्यसरी भन्नुभन्दा, उनीहरूलाई अझ बढी आश्वस्त बनाउनुपर्ने खाँचो छ भन्दा राम्रो हुन्छ ।

नेपालको विदेश नीति स्थिर नभईकन नेपालको लोकतन्त्र पनि अस्थिर नै रहने खतरा छ भनेर कसैले भन्यो भने ?

मैले तपाइँलाई भनिसकेँ नि ! देशभित्र आन्तरिक सहमति भएपछि यो प्रश्नको जवाफ स्वतः प्राप्त हुनेछ । सुरुवात आफैंबाट गरौं । सहमतिको सुरुवात देशभित्रै गरौं । अनि छिमेकीहरूसँग कुरा गरौंला।

पछिल्लो समयमा प्रचण्डजीसँग तपाइँका सम्बन्धमा धेरै उतार चढाव आयो । त्यसले गर्दा राजनीतिक  शक्ति सन्तुलनको तराजु नै हल्लिएको अवस्था छ अहिले । कुनै टिप्पणी ?

तराजु साँच्चिकै हल्लिएको हो कि हाललाई मात्र त्यस्तो देखिएको हो, अहिल्यै भन्न सकिन्न । प्रचण्डजीको व्यवहारका विषयमा म अहिल्यै धेरै बोल्न चाहन्नँ । मलाई आश्चर्य लाग्या छ । उहाँले अचानक कुरा फेर्नु भो ।

नवगठित वाम गठबन्धनबारे तपाइँको टिप्पणी ?

त्यसको भित्री उद्देश्य अझै प्रस्ट भइसकेको छैन । कम्युनिस्ट कम्युनिस्ट किन अचानक एक भए ? हिजो किन भएनन् ? एकाएक किन भए ? भित्री डिजाइन के छ ? केही समयपछि स्थिति स्पष्ट होला । अनि टिप्पणी गरौंला ।

किन ? उनीहरू एकठाम आए राम्रो होइन र ? राजनीतिक स्पष्टताका लागि ?

(हाँस्दै) कम्युनिस्टलाई उसको बोलाइबाट होइन काम गराइबाट मात्र नाप्नुपर्छ । भोलि उनीहरू कसरी जान्छन् त्यो हेर्नुपर्छ । उनीहरू राष्ट्रपतीय पद्धति ल्याउनुपर्छ भनिराखेका छन् । हाम्रो संविधान समावेशी छ । मधेसी, महिला, जनजाति, दलित, आदिवासी, थारू आदिका लागि आरक्षण छ । एकै जनाको हातमा यत्रो शासन दिने व्यवस्था र संविधानका मर्म एकैसाथ जान सक्छन् र रु सुन्दा मीठो लागे पनि नेपालजस्तो विविधताको देशमा राष्ट्रपतीय प्रणाली थाम्न सकिन्छ कि सकिन्न ? जटिल समाज छ हाम्रो । समावेशिता यो संविधानको आत्मा हो । त्यसलाई असर गर्नु भनेको यो संविधान च्यात्नुसरह हो ।

तपाइँ अधिनायकवाद ल्याउँछन् भन्नुहुन्छ । ओलीजीले ‘म लोकतन्त्रका लागि त्यति लडेको मान्छे, कसरी ल्याउँला ?’ भनेर जवाफ दिनुभयो ।।।

ओलीजीको लडाइँ लोकतन्त्रका लागि थियो कि कम्युनिस्ट शासनका लागि भन्ने कुरा आउने दिनले फैसला गर्नेछ । होइन भने उहाँहरू संविधान संशोधनको कुरा किन गर्दै हुनुहुन्छ अहिले ?

तपाइँ भन्दै हुनुहुन्छ कि राष्ट्रपतीय शासन पद्धतिले अन्ततः नेपाललाई अधिनायकवादतिर लिएर जान्छ ?

हो । लेखेर राख्नुस् – नेपालजस्तो विविधताले भरिएको देशमा समावेशिताको सिद्धान्तलाई त्यागियो भने अकल्पनीय दुर्घटना हुनेछ । यो नेपाल पुरानो नेपाल होइन । अधिनायकवादकै सम्बन्धमा अर्को कुरा( उनीहरूले आफ्नो पार्टीको नाम कम्युनिस्ट पार्टी किन राख्नुपर्‍यो ? कम्युनिस्ट भन्नेबित्तिकै अधिनायकवादलाई जनाउँछ भन्ने बच्चा–बच्चालाई थाहा छ ।

ओलीजीले मलाई केही दिनअघि भनिसक्नु भो ‘वस्तुतः यो कम्युनिस्ट गठबन्धन पनि होइन वामपन्थी गठबन्धन पनि होइन ।’त्यसो हो भने पार्टीको नाम फेर्नुपर्‍यो । कसलाई मूर्ख बनाएको ? कम्युनिस्ट देशमा पनि चुनाव हुन्छ र ? म कांग्रेस हुँ । गर्व गर्छु कांग्रेसी भएकोमा । उहाँहरूले पनि आफू कम्युनिस्ट भएकोमा गर्व गर्नुपर्‍यो नि !

चुनाव परिणाम कस्तो आउला भनेर अपेक्षा गर्नुभएको छ ?

म ढुक्क छु । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हुनेछ ।

तपाइँको पार्टी बहुमतमा आए प्रधानमन्त्री को हुनेछ ?

हामीसँग एक से एक दावेदार तयार छन् ।

तपाइँ ?

ह्वाई नट ?

पुस्ता हस्तान्तरण ?

जरुर । सधैं हामीले चलाउने हो र ! सही समय आएपछि त्यो भइहाल्छ ।

निर्वाचनको पूर्वसन्ध्यामा केही थप भन्न चाहनुहुन्छ ?

यो निर्वाचन सम्पन्न भएपछि लोकतान्त्रिक नेपालमा संक्रमणकालको सफलतापूर्वक व्यवस्थापन हुँदै छ । नेपाली कांग्रेस मौसमी झार होइन, सती सालको रूख हो । हामी धेरै बोल्दैनौं तर बोलेका कुरा पूरा गर्छौं । अब विकासको युग थालनी गर्नेछौं ।

विपक्षी दलहरूलाई केही भन्न चाहनुहुन्छ कि ?

हामी जुन लोकतन्त्रमा छौं, त्यसमा भोलिका दिनमा पनि मिलेरै जानुपर्ने हुन्छ । तुच्छ गाली(गलौज नगरौं । स्वस्थ प्रतिस्पर्धा गरौं ।
यति भनेर प्रधानमन्त्री देउवाले घडी हेरे । मैले बुझिहालें । म काठमाडौं फर्कन धनगढी एयरपोर्टतिर लागें, उनी डडेलधुरा । त्यसअघि मैले उनको एउटा तस्बिर आफ्नो मोबाइलमा खिचें । एक यस्तो मानिसको तस्बिर, जसले पञ्चायतका कठोर दिनमा नेविसंघबाट राजनीति थाल्यो । बीचको एक समयमा प्रजातन्त्र दरबारमा बुझाएको भनेर आरोपित भयो । र, कालान्तरमा गणतन्त्रको संक्रमणकाल अन्त्य गर्ने निर्णायक भूमिका उसको भागमा पनि नियतिले लेखेको रहेछ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ