कम्युनिष्ट शासन पक्षपाती र अधिनायकवाद नै हुन्छ : पौडेल
प्रकाशित २०७४ मंसिर १७ आइतबार
551
Shares
दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शासन पक्षपाती र अधिनायकवाद हुने बताएका छन् । व्यास नगरपालिका–७ को कलेस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।
कम्युनिष्ट शासन पक्षपाती हुने र कम्युनिष्ट शासनको अन्तिम विन्दु भनेकै अधिनायकवाद भएकाले लोकतन्त्रवादीलाई जिताउन सबै लाग्नुपर्ने उनले बताए । “सात दशकसम्म लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गरेको र जनताको स्वतन्त्रता र स्वाधीनताको पक्षमा अनवरत लड्दै आएको नेपाली काँग्रेस पार्टीले यस निर्वाचनपश्चात् प्रारम्भ हुने राष्ट्रिय पुनर्जागरणको नयाँ युगको नेतृत्व गर्नेछ”, पौडेलले भने।
देशको विकासका लागि लोकतन्त्र पक्षधरको जित आवश्यक रहेको बताउँदै नेता पौडेलले काँग्रेसलाई जिताउन आग्रह गरे।
आइतबार घरदैलो कार्यक्रममा प्रदेशसभा १ (१)का उम्मेदवार गोविन्द भट्टराई, पूर्वराज्यमन्त्री अमरराज कैनी, रोल्पाका पार्टी सभापति मानबहादुर नेपाली, नेवि संघका केन्द्रीय उपाध्यक्ष नवीन राई, प्रदेशसभाका समानुपातिक उम्मेदवार सरिता गुरुङ, क्षेत्रीय कोषाध्यक्ष कल्पना पोख्रेल, दलित नेता चन्द्रा परियार, महिला संघ नगर सदस्य सरला श्रेष्ठलगायतकाले लोकतान्त्रिक शक्तिले जिते मात्रै देशमा आर्थिक समृद्धि आउने बताएका थिए ।
आइतबारै वरिष्ठ नेता पौडेल व्यास–१२ को कमलबारी, छिर्कन, मैवल, देउराली, नाहाला, सत्रसय, विमलनगर, सिमलटार, कुमालगाउ, व्यास–९ को माझफाँट, नरङ्गा, गजौडेलगायतका क्षेत्रमा घरदैलो तथा कोणसभामा व्यस्त छन् ।