बदर मत कम गर्न आफुहरु सजग रहेको नवलपुरका उम्मेद्धारहरुको दाबी
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
73
Shares
गैँडाकोट । नवलपुरमा चुनाबी प्रचारमा रहेका दलका उम्मेद्धारहरुले मतदाता शिक्षा पर्याप्त हुन नसकेको बताएका छन् ।
नवलपुर क्षेत्रका उम्मेद्धारहरुले आफुहरुले चुनाब प्रचार सँगै मतदातालाई मतदिने तरिका पनि सिकाईरहेको भन्दै बदर मत कम गर्न सजग रहेको दाबी गरेका छन् । शुक्रवार गैँडाकोटको विजय विकास स्रोतकेन्द्रमा हाम्रा कुरा डट कम , इआईसिटी नेपाल र विजय एफ एम १०१.६ ले संयुक्तरुपमा आयोजना गरेको मतदाता शिक्षासम्वन्धि वहस कार्यक्रममा उम्मेद्धारहरुले मत बदर हुने सम्भावनातर्फ आफुहरु सजग रहेको वताएका हुन् । बामगठबन्धनका तर्फवाट नवलपुर क्षेत्र नं १ का उम्मेद्धार भविश्वर पराजुलीले आफुले केहि कार्यकर्तालाई मतदान कसरी गर्ने भनेर सिकाउन परिचालन गरेको वताए । तेश्रो मतपत्रमा मतदान गर्ने विषयमा सर्वसाधारणमा अन्योलता रहेको उनको भनाइ थियो ।
नेपाली काँग्रेस नवलपुर क्षेत्र नं १ प्रदेश क का उम्मेद्धार कृष्णचन्द्र नेपालीले संविधानसभा निर्वाचनमा बदर मतका कारण नै आफु पराजीत भएको अनुभब सुनाउदै अहिले मत बदर नहोस भन्ने पक्षमा आफु सजग रहेको दाबी गरे । राष्ट्रिय जनमोर्चाको नवलपुर क्षेत्र नं १ को प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेद्धार गोपाल गीरीले ठुला दल भन्नेहरुले आफ्ना कुराहरु नसुन्ने गरेको गुनासो गर्दै आफुहरुले मतदाताको घरमा पुगेर आफ्नो चिन्हमा मतदान गर्ने तरिका सिकाएको बताए ।
नयाँ शक्ति पार्टीको तर्फवाट नवलपुर १ प्रदेशसभा उम्मेद्धार सरोज खरेलले आफुहरुले भन्दा राज्यको संयन्त्र प्रयोग गरेर मतदाता शिक्षा दिनु आवश्यक रहेको वताए । उनले आफुहरुले भन्दा दलगत स्वार्थले भनेको अनुभुती हुने भएकाले यसमा स्वतन्त्र व्यक्ति लाग्नुपर्ने तर्क गरे । नयाँ शक्तिका प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेद्धार मोति रिजालले आफुहरुले जुलुस लिएर घरदैलो नगरेकोले हरेक घरमा पुग्दा मतहाल्ने तरिका सिकाउने गरेको वताए ।
गैँडाकोट नगरपालिकाको उपमेयर विष्णु कुमारी सापकोटाले मतदाता शिक्षाका विषयमा उम्मेद्धार समेत राखेर गरेको वहस निकै सान्दर्भिक भएको भन्दै मतदाता शिक्षामा सञ्चारमाध्यमको मुख्य भुमिका हुने वताइन् । कार्यक्रममा गैँडाकोट नगरपालिका भित्र रहेका सामजिक संघसंस्थाका प्रतिनिधि, अग्रज तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । विजय एफ एमका स्टेशन म्यानेजर धु्रबमणि पौडेलले सहजीकरण गरेको कार्यक्रममा हाम्रा कुरा डट कमका प्रधानसम्पादक अजयवाबु सिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।