बालकृष्ण खाँण भन्छन् –नेपाललाई कम्युनिष्टको प्रयोगशाला बनाउन दिदैनौं
प्रकाशित २०७४ मंसिर १७ आइतबार
578
Shares
देवदह । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय निर्वाचन परिचालन समितिमा संयोजक बालकृष्ण खाँणले नेपाललाई हिंसा, बन्द, झगडा र कम्युनिष्ट शासन सत्ताको प्रयोगशाला बन्न नदिने उद्घोष गरेका छन् ।
संयुक्त लोकतान्त्रिक गठबन्धनद्धारा शनिवार रुपन्देहीको क्षेत्र नम्बर १ को देवदह ढेकावर र ओमसतिया गाउंपालिकाको हाटी फर्साटिकरमा आयोजित विशाल चुनावी सभामा नेता खाँणले सो कुरा बताएका हुन् ।
पूर्व रक्षामन्त्रीसमेत रहेका खाँणले विश्वका १ सय ९५ राष्ट्र मध्ये उत्तरकोरिया, भियतनाम, लाओस र क्युवामा मात्र कम्युनिष्ट शासन बाँकी भएको दावी गर्दै नेपालमा कम्युनिष्ट शासनको सपना नदेख्न कम्युनिष्ट गठबन्धनलाई चेतावनी दिए ।
उनले लुम्बिनी अंचल र रुपन्देही जिल्लालाई विकासको नमुना केन्द्रको रुपमा विकास गर्ने कांग्रेसको नीति र कार्यक्रम रहेको बताउँदै ५ नम्बर प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्ने लक्ष्य रहेको समेत बताए ।
उनले सिंचाइको लागि कालीगण्डकी डाइभर्सन गरेर रुपन्देहीमा ल्याउने बृहत परियोजनाको शुरुआत भएको बताउदै भगवान गौतम बुद्धको मावली स्थल देवदहलाई अन्र्तराष्ट्रिय स्तरकै केन्द्र बनाउने उल्लेख गरे ।
‘काँग्रेसको नियती नै भनौं या बाध्यता जव मुलुक अप्ठ्यारोमा पर्छ ,कठिन अवस्थामा हुन्छ, त्यो बेला काँग्रेसले अरुलाई साथमा लिएर हिड्नु परेको छ’, काँग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले भने, ‘राष्ट्र्रियता र जनताकै उपलब्धि रक्षा गर्न हामीले समय अनुसार राजा, एमाले, माओबादी केन्द्र र अहिले राप्रपालाई साथ लिएका छौं ।’
कार्यक्रमलाई नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सभापति एवंम् क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले जनताको हक अधिकारको फैसला नेपाली कांग्रेसले मात्र गर्ने भएकाले आफ्नो अधिकारको उपयोग गर्न नेपाली कांग्रेसलाई जिताउन आवश्यक रहेको बताए ।
त्यसैगरी राप्रपा प्रजातान्त्रिकका क्षेत्र नं १ क का प्रदेश सभा उम्मेद्धवार ताहिर अलिले देशमा कम्युनिष्ट गठबन्धन काँडाको रुपमा उभिएकाले त्यसलाई समाप्त पार्न लोकतान्त्रिक गठबन्धन आवश्यक परेको बताए ।
बामगठबन्धनले तानाशाहीको खोल ओढेकाले जनताले तानाशाही शासन पक्षधरलाई यो निर्वाचनका माध्यमबाट तिरस्कार नगरे तिनले बर्षौसम्म नेपाली जनतालाई दुःख दिने पनि अलिले बताए ।
कार्यक्रममा प्रदेश सभा खका उम्मेद्धवार हरि न्यौपानेले लोकतान्त्रिक संबिधान कार्यान्वयन तथा समग्र प्रदेशको विकासका लागि, स्थानिय स्तरमा तिलोत्तमा नगरपालिकामा रिङ्रोड निर्माण गर्न, रोहिणी गाउंपालिकामा सुविधासम्पन्न १०१ सैंया सहितको सामुदायिक अस्पताल निर्माण, तिलोत्तमा नगर स्तरीय अस्पताल, बनाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा क्षेत्र नं एक क्षेत्रीय प्रचार–प्रसार संयोजक हिराबहादुर खत्रीले नेपाली कांगे्रस शान्तिप्रेमी भएको बताउँदै कसैले हाम्रो भावनामाथि ठेस पुर्याउने काम गरेमा चुप लागेर नबस्ने चेतावनी दिए ।