समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक, २१७ लाई गराए प्रकाशमानले काँग्रेसमा इन्ट्री
प्रकाशित २०७४ मंसिर १६ शनिबार
202
Shares
भक्तपुर । नेपाली काँग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतन्त्र र देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।
शनिबार मध्यपुरथिमिको चपाचोमा आयोजना भएको लोकतान्त्रिक युवा भेलामा उनले विश्वबाट पतन भएको साम्यवादको नेपालमा भविश्य नरहेको भन्दै २१ औँ शताब्दिमा नेपालमा कम्युनिष्ट व्यवस्था सफल हुन सक्दैन भने ।
उनले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने दाबी गर्दै काँग्रेसको नेतृत्वमै नयाँ सरकार गठन हुने बताए ।
युवा परिचालन समितिका जिल्ला संयोजक अष्ट कवेले लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्दै सफलरुपमा संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेसले विजयी हासिल गर्नुपर्ने बताए ।
त्यसअवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दमननाथ ढुंगाना, पार्टीका पूर्वसभापति एवं मध्यपुरथिमि प्रदेशका उम्मेदवार गणेशमान चक्रधर, काँग्रेस नेता महेश श्रेष्ठ, काँग्रेस नगर समितिका सभापति सुरेन्द्र श्रेष्ठ, नेता हरिदाश प्रजापति, राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य सुरेन्द्र केसीलगायतका वक्ताले लोकतान्त्रिक संविधान जारी गर्न काँग्रेस नेतृत्वको गठबन्धनलाई विजयी गराएर समृद्धिको अभियान सफल तुल्याउनुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातानित्रक०)ले काँग्रेसलाई सघाउने घोषणा गरेका छन् ।
त्यस अवसरमा राप्रपाका जिल्ला अध्यक्ष एवं पूर्वराज्यमन्त्री दिनेश श्रेष्ठले प्रत्यक्षतर्फ नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गरेर सघाउने र समानुपातिकमा राप्रपालाई काँग्रेसले मतदान गरेर सघाउने बताए ।
लोकतन्त्र नरहे लोकतान्त्रिक पार्टीको अस्तित्व नरहने महसुस गरेर भक्तपुर क्षेत्र नं २ प्रतिनिधिसभामा दमननाथ ढुंगाना, प्रदेशसभामा गणेशमान चक्रधर र अंगत खड्कालाई मत दिने निर्णय भएको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका २१७ जनालाई काँग्रेस नेता सिंहले पार्टी प्रवेश गराए ।