हेटौंडा । लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका महालक्ष्मी उपाध्याय डीना र प्रदेशसभा सदस्यका उम्मेदवार रहेका इन्द्रबहादुर बानियाँलाई नयाँ शक्ति नेपाल पार्टीले सघाउने भएको छ । शनिबार बस्तीपुरमा भएको लोकतान्त्रिक गठबन्धनको आमसभामा नयाँ शक्ति नेपाल पार्टीका नेता राजकुमार भेटवालले डीना र बानियाँलाई सघाउने घोषणा गरे ।
‘सही समयमा सही निर्णय गर्ने उद्देश्यले हामीले काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका हौँ’, भेटवालले भने, ‘प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवारलाई नयाँ शक्तिले समर्थन गर्नेछौँ । समानुपातिकमा नयाँ शक्तिलाई सहयोग हुनेछ भन्ने आशा राखेका छौँ ।’ भेटवालले वाम गठबन्धनको भ्रमको पछि नलाग्न अनुरोध गर्दै काँग्रेसबाट इमान्दार एवम् विकासप्रेमी नेता रहेकोले ढुक्क भएर मतदान गर्न अनुरोध गरे । हेटौंडा १९ नम्बर वडामा अब लोकतान्त्रिक गठबन्धनसंग ६६ प्रतिशत मत रहेको उनले दावी गरे ।
कम्युनिष्टहरुले अहिलेसम्म मकवानपुर जिल्ला लालकिल्ला भनेर उफ्रिने काम बाहेक अरु केही नगरेको भन्दै फेरि पनि भ्रम छर्दै झुटको खेति गर्न आएका कम्युनिष्ट नेतालाई भोट दिनु भनेको पछुताउनु मात्रै भएको राजकुमार भेटवालले बताए ।