पूर्व मन्त्री र पूर्व राज्यमन्त्री बीच चुनावी रस्साकस्सी
प्रकाशित २०७४ मंसिर १६ शनिबार
96
Shares
गाईघाट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर क्षेत्र नम्बर १ मा दुई पूर्व मन्त्रीबीच चुनावी रस्साकस्सी र प्रतिस्पर्धा उत्कर्षमा पुगेको छ ।
नेपाली काँग्रेसबाट उम्मेदवार रहेका काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वशहरी विकासमन्त्री डा नारायण खड्का र वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एमाले)की वैकल्पिक केन्द्रीय सदस्य एंव पूर्वशहरी विकासराज्यमन्त्री मञ्जुकुमारी चौधरीबीच चुनावी रस्साकस्सी र तीव्र प्रतिस्पर्धा देखिएको छ ।
२०६४ सालको पहिलो संविधानसभा सदस्यको निर्वाचनदेखि निरन्तर चुनावी विजय हासिल गर्दै आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व शहरी विकासमन्त्री खड्कालाई यसपटकको वाम गठबन्धनले खासै प्रभाव नपर्ने स्वतन्त्र बुद्धिजीवी हीरामान मोते बताउछन् ।
पहिलो संविधानसभा सदस्यको निर्वाचनमा पनि सगरमाथा क्षेत्रभरिबाट नै उदयपुर क्षेत्र नं १ बाट डा खड्काले विजय हासिल गरेको र त्यसपछि पनि निरन्तर विजय हासिल गर्दै आएका कारण यस पटक पनि चुनावमा अत्यधिक मतले उनि विजयी हुने कुरा अर्का बुद्धिजीवी तथा पूर्व शिक्षक विष्णुप्रसाद कोइरालाको धारणा छ ।
कोइराला भन्छन्, “डा खड्काले जिल्लामा धेरै काम गरिसकेका छन्, र स्थापित भइसकेको नेता हुनाले पनि वाम गठबन्धनको जस्तोसुकै हावाहुरी आए पनि खड्काले धेरै मत प्राप्त गरेर प्रतिपक्षका उम्मेदवारलाई हराउने निश्चित छ ।”
यता वाम गठबन्धनका उम्मेदवार पूर्व शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले वाम गठबन्धनको मत काँग्रेसभन्दा धेरै रहेको र शहरी विकास राज्यमन्त्री हुँदा नौ महिनाको अवधिमा धेरै विकासका योजना सञ्चालन गरेका कारण पनि चुनावमा खड्कालाई हराउन सक्ने धारणा अर्का स्वतन्त्र बुद्धिजीवी तथा प्राध्यापक रमेश रोकाको छ ।
राजनतिक विश्लेषक तथा मतदाता भन्छन्, “अहिलेको अवस्था हेर्दा दुबै उम्मेदवार बलियो देखिएको छ, त्यसैले दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने र कसले जित्ने भन्ने कुरा अहिले नै भन्न सकिन्न ।