'यो चुनाव कम्युनिष्ट र लोकतान्त्रिक शासन पद्दतिको ‘जनमत संग्रह’ हो'
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
498
Shares
बुटवल । गत मङ्सिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचन र आगामी २१ हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन एकदलीय कम्युनिष्ट शासन र लोकतान्त्रिक शासन पद्दतिको जनमतसंग्रह भएको नेपाली काँग्रेसका नेता तथा उम्मेदवारहरूले बताएका छन् ।
निर्वाचनलाई लक्षित गरी रुपन्देहीको सैनामैना वडा नं ४ मा नेपाली काँग्रेसको घरदैलो अभियानपछि आयोजित सभामा बोल्दै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार युवराज गिरीले यो निर्वाचन भनेको लोकतान्त्रिक शासन पद्दति या मुलुकमा लोकतान्त्रिक शासन पद्दति लागू गर्ने सन्दर्भमा ‘जनमतसंग्रह’ जस्तै भएको टिप्पणी गरे ।
‘नेपाली जनताले कुनैपनि अधिनायकबादलाई स्वीकार गर्दैनन्’ गिरीले भने ‘यो कुरा विगतका आन्दोलनले पनि देखाएका छन्, यसमा नेपाली जनता सचेत छन् त्यसैले म बामगठबन्धनका नाममा भएको जनतालाई गुम्राहामा हाल्ने सपना नदेख्न कम्युनिष्टहरूलाई आग्रह गर्दछु ।’
लोकतान्त्रिक पद्धतिमा मात्रै सामाजिक आर्थिक सम्बृद्धिको मार्ग प्रसस्त हुने दाबी गर्दै उम्मेदवार गिरीले लोकतन्त्रवादी शक्तिहरूले अहिलेको निर्वाचनमा विजयी प्राप्त गर्ने दाबी गरे । रुपन्देहीलाई आर्थिक क्षेत्रको विकास गर्ने प्रतिबद्धतासहित आँफू र आफ्ना पार्टीका उम्मेदवारहरू चुनावी मैदानमा आएको दाबी गर्दै गिरीले विवेकका साथ आफू र आफ्नो पार्टीका उम्मेदवारहरूलाई मत दिन सर्वसाधारणसँग आग्रह गरे ।
त्यस्तै रुपन्देही क्षेत्र नं २ प्रदेशसभा २ का उम्मेदवार महेशमान सिँहले रुपन्देही जिल्लालाई मुलुकको आर्थिक मेरुदण्डको शहर बनाउने सपनासहित आँफूले उम्मेदवारी दिएको दाबी गरे । लोकतान्त्रिक व्यवस्थामा मात्रै उद्योगधन्दा, कलकारखाना र विकास निर्माणको मार्ग प्रसस्त हुने दाबी गर्दै सिँहले भने ‘उद्योग कलकारखाना, विकास निर्माणका कामले गति लिएमा मात्रै रोजागारीको बातावरण सिर्जना हुन्छ ।’
मुलुकलाई सम्बृद्धिको बाटोमा डो¥याउन र आर्थिक क्रान्ति ल्याउन काँग्रेसको बिजयी आवश्यक रहेको दाबी गर्दै उम्मेदवार सिँहले भने ‘नेपाली काँग्रेसले ल्याएको नीति मात्रै उद्योगमैत्री भएकोले ठूलाठूला उद्योगी व्यापारीहरू पनि अहिले आएर विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन् ।’
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ का सभापति हरि लम्साल, प्रदेशसभा २ का प्रचारप्रसार संयोजक हरिबहादुर आचार्य, सचिव मुक्तिप्रसाद अधिकारीलगायतले बोलेका थिए ।
यसैबीच नेपालका बरिष्ठ उद्योगपति विनोद चौधरी शनिबार बुटवल आउने भएका छन् । निर्वाचनलाई लक्षित गरी यहाँका उद्योगीहरुले राखेको भेलालाई सम्बोधन गर्न उनी बुटवल आउने कार्यक्रम तय भएको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं २ प्रदेश सभा २ का प्रचारप्रसार सचिव मुक्ति अधिकारीले बताए ।