arrow

काँग्रेसबारे के बोले यी ३ नेताहरुले ? 

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
three_leader1.jpg

सुर्खेत। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्काले जनताको विकासको चाहनालाई नेपाली कांग्रेसले मात्र पूरा गर्न सक्ने बताएका छन् । सुर्खेतको लेकवेशी नगरपालिकाको चुनाव प्रचारप्रसार समितिले कल्याणमा बिहिबार आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका  खड्काले सो कुरा बताएका हुन्।
 
उनले जनताको विकासको चाहना आफूले पूरा गर्दै आएको उल्लेख गर्दै यो निर्वाचनमा विजयी बनेपछि ६ महिनाभित्र धुलियाबिट–भेडाबारी पिँच गरेर देखाउने बताएका छन्। उनले भेरीगंगा नगरपालिकाको भेरी उपत्यकाका दुवै किनारमा अत्याधुनिक नमूना शहर निर्माण गर्न जनताले नेपाली काँग्रेसलाइ जिताउनुपर्ने बताए। भेरी नदी किनारका जग्गाहरुमा आवश्यकता अनुसार कृषि उत्पादन गरी समग्र जिल्लालाइ नै खाद्यान्नमा आत्मनिर्भर बनाएर खाद्यान्न तथा तरकारी निर्यात गर्नका लागि किसानहरुलाई सक्षम बनाउने योजना आफूले लिएको खड्काले बताए ।
 
हाल सिचाइँको अभाव रहेका जिल्लाका कृषियोग्य भूमिमा नजिकको पानीको स्रोत खोजी गरी तत्काल सिँचाइको व्यवस्था गर्दै जनताको आर्थिक समृद्धिमा टेवा पु¥याउने आश्वासन समेत खड्काले दिए। कार्यक्रममा प्रदेश सभा सदस्य पदका लागि सुर्खेत क्षेत्र नं. १ (ख) का उम्मेदवार झकबहादुर डाँगीले नागरिकको स्वतन्त्रतासम्बन्धी मौलिक हकको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्व अपरिहार्य रहेको भन्दै आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसलाइ जिताउन मतदातासंग अपिल गरेका छन्। कार्यक्रम नेपाली काँग्रेस गाउँ कार्य समिति कल्याणका सभापति प्रतिमान बाँकाबलको सभापतित्वमा सम्पन्न भएको हो ।
 
मुलुकको नेतृत्व काँग्रेसले गर्छ : नेता थानी 
सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार हृदयराम थानीले जिल्ला, प्रदेश र मुलुकको विकासको नेतृत्व कांग्रेसले नै गर्ने दावी गरेका छन् । बिहीवार वीरेन्द्रनगर नगरपालिकाको वडा नं.१, ४र ६मा घरदैलो कार्यक्रम गर्दै पूर्वमन्त्री थानीले सुर्खेतमा अहिलेसम्म विकासको काम कांग्रेसले नै गरेकोले अव पनि कांग्रेसलाई नै जिताएर थप जिम्मेवारी दिन आग्रह गरे ।
 
कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार कमलराज रेग्मीले लोकतन्त्रको स्थापना, संविधान निर्माण र विकासमा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेकोले अव समृद्धिको अभियानको नेतृत्व पनि कांग्रेसलाई दिनुपर्ने बताए । कार्यक्रममा वडा अध्यक्ष मोतीप्रसाद कँडेल, प्रदेश उद्योगबाणिज्य महासंघका अध्यक्ष पदमबहादुर शाहीलगायतले भनाइ राखे।

सडक र अस्पतालको माग
पश्चिम सुर्खेतको तातापानी र वेतानमा भोट माग्न पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय मतदाताहरुले बड्डीचौर–बेनिघाट–दिपायल सडक, सालकोट स्वास्थ्य चौकीलार्इ अस्पतालमा परिणत तथा सिचाइँ र खानेपानीका योजनाहरु बनाउने भए मात्र भोट दिने बताएका छन् । बिहिबार आफ्नो गाउँमा चुनावी प्रचारका शिलशिलामा गएका नेपाली काँग्रेसका तर्फबाट सुर्खेतको क्षेत्र नं. २ (ख) का उम्मेदवार तप्तबहादुर विष्ट र पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा समक्ष उनीहरुले यस्ता मागहरु राखेका हुन् ।
 
आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसलाइ जिताएमा बड्डीचौर–वेनिघाट–दिपायल सडक पिच गर्न एसएनआरटीमार्फत अघि बढाइने र सालकोट स्वास्थ्य चौकीलाइ २५ शैय्याको अस्पताल बनाउने प्रतिबद्धता पञ्चपुरीका मेयर उपेन्द्र थापा र प्रदेश सभा उम्मेदवार तप्तबहादुर विष्टले व्यक्त गरेका छन्।

कांग्रेस उम्मेद्वारहरुले वेतानको खानेपानी आयोजनासँगै सुर्खेतको पश्चिममा विजुली वितरण गर्न बावियाचौरमा बनिरहेको सव–स्टेशन छिट्टै निर्माण गरी पश्चिमलाइ उज्यालो बनाउने समेत प्रतिबद्धता जनाए । मतदाताहरुले उठाएका मागका विषयमा बोल्दै राज्यमन्त्री विष्टले विद्यालय भवन नभएको ठाउँमा भवन र फर्निचर नभएको ठाउँमा फर्निचर उपलब्ध गराउने आश्वासन दिएका छन् । चुनाव प्रचारप्रसारअन्तर्गतको घरदैलो कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, नेपाली काँग्रेस सुर्खेत क्षेत्र नं. ३ का अध्यक्ष लालबिर भण्डारी, जिल्ला कार्य समिति सदस्य पूर्ण राना र महिला संघका रेणुका रानालगायतको उपस्थिति रहेको थियो ।
 
जनताका माग पूरा गर्छु : सिंह
आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट सुर्खेत क्षेत्र न. १ (क) का उम्मेदवार टेकबहादुर सिंहले सुर्खेतको दहचौरमा रहेको पर्यटकीय स्थल ‘सुनदह’लार्इ सरसफाइ गरी पर्यटक भित्र्याउन पहल गर्ने आश्वासन दिए। चुनाव प्रचारप्रसारका क्रममा बिहिबार गुर्भाकोट नगरपालिका १२ दहचौरमा पुगे सिंहले आफूले जितेमा जनताको आवश्यकता अनुसार खाने पानी, स्वास्थ्य, शिक्षा, सडकलगायतका मागलाई पूरा गर्ने वचन दिए।
 
घरदैलो कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेतको कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्क पोखरेल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुन तथा गुर्भाकोट १२ का वडा सभापति मदनबहादुर चन्दले पनि आसन्न निर्वाचनमा काँग्रेसलार्इ जिताउन अपिल गर्दै उठाएका मागहरु पूरा गर्ने आश्वासन दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ