लोकतन्त्रको रक्षा र समृद्धिको लागि कांग्रेसलाई बहुमत आवश्यक : मन्त्री बस्नेत
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
590
Shares
काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् गरिवी निवारण तथा सहकारी मन्त्री र काठमाडौ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा लागि नेपाली कांग्रेसकी उम्मेदवार अम्बिका बस्नेतले कम्युनिष्टहरुले मुलुकमा सर्वसत्तावाद लाद्ने योजना अनुरुप गठबन्धन गरेकोले आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाएर लोकतन्त्रको रक्षा गर्दै समृद्धिको अभियानलाई सफल पार्न मतदातासमक्ष अनुरोध गरेकी छिन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा निर्वाचन परिचालन समितिका सदस्य हरिबोल भण्डारीको पहलमा आयोजना गरिएको बृहत् महिला भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुकको हरेक महत्वपूर्ण परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसका सबै उम्मेदवारहरुलाई आसन्न निर्वाचनमा अत्याधिक मत सहित विजयी गराउन आह्वान गरिन् ।
उनले लोकतन्त्रवादीहरुको जीतका लागि नेपाली कांग्रेसलाई सबै तह र तप्काको सहयोग जरुरी भएको बताइन्। मन्त्री बस्नेतले झुटको राजनीति गर्न खप्पिस वामपन्थी दलहरुको औचित्य समाप्त भइसकेको बताए।
भेलालाई सम्बोधन गर्दै प्रादेशिक उम्मेदवारद्धय छिरिङ दोर्जे लामा, विमल ठकुरी, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानिँया लगायतले नेपाली कांग्रेस जितेमा मात्र लोकतन्त्रको भविष्य सुरक्षित हुने धारणा राखे ।
भेलामा नेविसंघ महामन्त्री सरोज थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, चर्चित कलाकार सन्दिप क्षेत्री लगायत सहित नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । नेपाली कांग्रेसका महासमिति सदस्य तथा निर्वाचन परिचालन समितिका सदस्य हरिबोल भण्डारीले भेलालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कांग्रेसको जीतका लागि एक भएर लाग्न सबैलाई आह्वान गरे ।
समाजसेवीका रुपमा समेत परिचित भण्डारी नेपाली कांग्रेसको जीतका लागि आफ्नो निर्वाचन क्षेत्र सहित देशभरका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुँदै आएका छन्।