भैरहवा(रुपन्देही) । निर्वाचनको मिति नजिकिदै आएपछि संयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवारहरु मोबाईल कोण सभामा केन्द्रित भएका छन् । चुनावको प्रचार प्रसारका लागि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका स्वास्थ्य र विज्ञान तथा प्रविधि मन्त्री एवम् राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दीपक बोहरा तथा नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा १ का उम्मेदवार देवीप्रसाद चौधरीले बिहिबार सिद्धार्थनगर नगरपालिका भित्रका बिभिन्न ९ बटा स्थानमा घुम्ती चुनावी सभालाई सम्बोधन गरेका छन् ।
उनीहरुले सिनपा १ को कोटईमाई चोक, नौउडीहवा चोक, नयाँ गाँउ चोक, २ को झण्डी बजार चोक, मेउडिहवा चोक, ३ को मेडिकल कलेज गेट अगाडि, १० को शंकरपुर चोक, ११ पिपैरैया चोक, शिसवा चोकमा सम्बोधन गरे ।
सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार दीपक बोहराले प्रदेश नम्बर ५ को राजधानीलाई रुपन्देही बनाउन तथा रुपन्देहीका समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउनु पर्नेमा बताए। उनले यस क्षेत्रको विकासका लागि आफुसँग मात्रै भिजन भएको उल्लेख गर्दै निर्माणाधीन विकासका आयोजना र थप नयाँ आयोजना ल्याउनका लागि आफूलाई विजयी गराउन आग्रह गरे ।
प्रदेश सभा (क)का उम्मेदवार देविप्रसाद चौधरीले संबिधान कार्यन्वयन तथा समग्र प्रदेशको बिकासका लागि काग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । कम्युनिष्ट गठबन्धनले चुनाव जिते जनताको लामो त्यागबाट बनेको संबिधान नै संकटमा पर्ने भएकाले संबिधानको रक्षा र मुलुकको हितका लागि कांग्रेसलाई बहुमत दिन आग्रह गरे। संयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही ३ ले भोलि पनि सिद्धार्थनगर भित्र विभिन्न १० ठाउँमा मोवाईल चुनावी सभा गर्ने जनाएको छ ।