arrow

मोहन विक्रम सिंहको दृढता : पत्नीको लागि मत माग्ने तर मतदान नगर्ने

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Mohan-Bikram-Singh.jpg

जुम्री, प्यूठान ।  नेकपा(मसाल)का अर्धभूमिगत महामन्त्री मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई मत नदिने भएका छन्। सिंहपत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार छन् । राजमो मसालको खुला सङ्गठन हो । उनीसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रा डा गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । 

नेता सिंह चुनाव प्रचारप्रसारका लागि भने अहिले यहीँ छन् । नेता सिंहले आफूले विसं २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि आफैँलाई मतदान नगरेको बताए। सिंह पहिलो पटक विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नं ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदमा उम्मेदवार थिए। त्यसपछिको संसदीय र स्थानीय निर्वाचनमा पनि मतदान नगरेको नेता सिंहले सुनाए। 

त्यसबेला उनी एक हजार २०० मत अन्तरले हारेका थिए। उनलाई पराजित गरी काँग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बनेका थिए। “सार्वजनिक कार्यक्रम र टेलिभिजन जस्ता दृश्य सञ्चारमाध्यममा प्रस्तुत नहुने भएकाले म अहिले पनि अर्धभूमिगत छु, पार्टी कार्यकर्ता र पत्रकारसँग चाहिँ कुरा हुन्छ”, उनले भने । 

धेरै कम्युनिष्ट नेताका गुरु सिंह देशको आवश्यकता पूर्ति गर्न अझै आफू अर्धभूमिगत रहेको बताउँछन्। धेरै प्यूठानीलाई राजनीतिक प्रशिक्षण दिएका उनलाई यहाँका सामान्य मानिसले पनि गुरु भनी सम्बोधन गर्छन् । “अर्धसामन्ती एवं अर्धऔपनिवेशिक अवस्था रहेसम्म म अर्धभूमिगत रहन्छु, साम्यवादी जनसत्ता स्थापनाका लागि लामो संघर्ष गर्नुपर्छ, यसका लागि म लामो समयदेखि लागेको छु”, गुरुले भने । 

केही वामपन्थी दल मिलेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन बनाए पनि वाम दलबीच चुनावलगत्तै एकताको सम्भावना नरहेको उनको भनाइ छ । सबै कम्युनिष्टबीच एकता भएर एउटै दल हुनुपर्ने आवश्यकता रहे पनि धेरै छलफल आवश्यक रहेको नेता सिंहले बताए। 

“संघीयताका बारेमा हाम्रो नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग मतभेद छ, छलफलद्वारा मतभेदलाई अन्त्य नगरेसम्म अहिले नै वाम दलबीच एकता हुन सक्दैन, सैद्धान्तिक रुपमा गहन बहसको जरुरी छ”, उनले भने। काँग्रेसको पुरानो नेतृत्वले लोकतान्त्रिक शासन व्यवस्थाका लागि लडे पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट यसको रक्षा हुन नसक्ने आरोप नेता सिंहले लगाए। लोकतन्त्रकै रक्षाका पनि वाम दलबीच गठबन्धन गरेर चुनावमा जानुपरेको उनले सुनाए । 

आफ्नो दल जनवादी शासन व्यवस्थाको पक्षमा रहे पनि संसदीय शासन व्यवस्थालाई तत्कालीन रणनीतिका रुपमा उपयोग गरेको उनले बताए। प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई गरी तीन पदका लागि प्यूठानमा यही मंसिर २१ गते मतदान हुँदैछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ