पाल्पा। धेरै दुर्घटनाका कारण मृत्युमार्गको संज्ञा पाएको पाल्पा–बुटबल सडक खण्डको सिद्धबाबा सडक आसन्न निर्वाचनमा दलहरुका लागि मुख्य चुनावी मुद्दा बनेको छ । तिनाउ गाउँपालिकास्थित दोभानमा पर्ने सिद्धबाबा क्षेत्रमा सुख्खा ढुङ्गासहितको पहिरोका कारण वर्षेनी यात्रुहरुको अकालमा ज्यान जाने गरेको छ । बुटवल उपमहानगरपालिकाको सिद्धबाबा क्षेत्रदेखि पाल्पाको तिनाउ गाउँपालिकाको दोभान प्रहरी चौकीसम्म करिब आठ किलोमिटर सडक क्षेत्रमा अहिले पनि पहिरोको खतरा टरेको छैन । पहिरो नरोकिँदा यात्रु तथा चालकहरु त्रासदपूर्ण यात्रा गर्न बाध्य छन् ।
गत असोज ७ गते मात्र सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडक खण्डमा खसेको पहिरोले ट्रक र कार पुरिँदा तीन जनाको मृत्यु भयोे । पहिरोमा गुल्मी बलेटक्सारका २४ वर्षीय यमबहादुर ज्ञवाली, ट्रक चालक तिनाउ गाउँपालिका ५ का माधव राना र गाडीमा सवार रुरु गाउँपालिका गुल्मीका ५१ वर्षीय तिलकराम भण्डारीको अकालमै ज्यान गुम्यो । यस्ता घटना वर्षेनी घटेपनि राजनीतिक तहबाट सडक बनाउन ठोस पहल भएको छैन ।
पटकपटक ढुङ्गे पहिरो खसेर गाडी नै पुरिँदा अकालमा ज्यान गुमाउने परिवारको पीडालाई भने चुनावका बेला दलका उम्मेदवारहरुले सम्झन थालेका छन् । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ का वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार सोमप्रसाद पाण्डेय सिद्धबाबा क्षेत्रको जोखिम तत्काल समाधान गर्न वैकल्पिक सडकको रुपमा झुम्सा–चौकीभञ्ज्याङ–चरङ्गे सडक र बुटवलको नुवाकोट दोभान हुँदै सिद्धार्थ राजमार्गको काम अघि बढाउने बताए। वैकल्पिक सडकको कामलाई पनि निरन्तर रुपमा अघि बढाउदै लैजाने र अन्ततः सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बनाउने उहाँको योजना छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरिप्रसाद नेपालले सिद्धबाबा क्षेत्रको सडक आफ्नो प्रमुख कार्यसूची भएको बताउनुभयो । काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले रैनादेवी छहरा गाउँपालिका–५, मुझुड्गको कटौजेपानीको आमसभामा नेपालको सोही कार्यसूचीलाई पूरा गर्ने विश्वास पनि व्यक्त गरेका थिए । राष्ट्रिय जनमोर्चाका क्षेत्र २ प्रदेश (ख) का उम्मेदवार निश्चल क्षेत्रीले वैकल्पिक सडकको रुपमा रुपन्देहीको देवदह–झुम्सा–चौकीभञ्ज्याङ–चरङ्गे सडक सञ्चालनले सिद्धार्थ राजमार्ग जोड्ने काम अघि बढेको बताए। यो वैकल्पिक सडकबाट गाडी गुडाउन सकेको अवस्थामा पहिरोका कारण हुने मानवीय क्षति कम गर्न सकिने उनको भनार्इ छ ।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सिद्धबाबाको विकल्पमा रुपन्देहीको देवदह, चरङ्गे, चौकीभञ्ज्याङ, ज्यामिरे, झुम्सा सडकको काम अघि बढेको बताए। सडक निर्माणका लागि पाल्पाको तिनाउ गाउँपालिकाले ३० लाख, तानसेन नगरपालिकाले २० लाख, रिब्दीकोट गाउँपालिकाले दश लाख रुपैयाँ आर्थिक सहयोग गरेपछि पाल्पा खण्डको झुम्सा क्षेत्रमा काम भएको छ । पाल्पाका अन्य स्थानीय तहहरु पनि वैकल्पिक सडक निर्माणका लागि बजेट विनियोजन गर्ने तयारीमा रहेको अध्यक्ष घर्तीले जानकारी दिए । रुपन्देहीको देवदह नगरपालिकाले आफ्नो क्षेत्रमा काम अघि बढाएको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा पाल्पा बुटबलका सवारीसाधन यही मार्ग हुँदै सञ्चालनमा आउने छ ।
निर्वाचन क्षेत्र २ मा माथागढी गाउँपालिकाको वडा नं १, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका वडा नं ८ बाहेक सबै, रिव्दिकोट, रैनादेवी छहरा र तिनाउ गाउँपालिका वडा नं ५ बाहेक सबै वडाहरु पर्छन् । यस क्षेत्रमा ९५ हजार २ सय ६९ मतदाता छन् । पाल्पामा कूल १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेका छन् । रासस