काँग्रेस नेता लेखकको प्रतिवद्धता – अब बेरोजगारी समस्या समाधानमा लाग्छु
प्रकाशित २०७४ मंसिर १३ बुधबार
133
Shares
कञ्चनपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार रमेश लेखकले अबको ५ वर्षको अवधिमा आफू कचनपुरको बेरोजगारी समस्या समाधानमा लाग्ने बताएका छन् ।
जिल्ला सदरमुकामबाट बिकट मानिएको महाकाली नगरपालिकामा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लेखकले दोधरा, चाँदनी सहित कञ्चनपुर जिल्लालाई नै नेपाल, भारत र चीनको त्रिदेशीय नाकाको रुपमा विकास गर्न आफू लागिपरेको दाबी गर्दै नेता लेखकले महाकालीमा पक्की पुल बनेपछि यो क्षेत्रमा रोजगारीका संभावनाको ढोका खुल्ने बताएका हुन् ।
‘अबको ५ वर्षको अवधिमा मेरो ध्यान यस क्षेत्रको बेरोजगारी समस्या समाधानमा रहने छ’ उनले भने, ‘पुल बनेपछि यहाँको जमिनको भाउ बढेर यही स्वरोजगार बन्न सक्ने अवस्था पनि सिर्जना हुनेछ ।’
आफ्नो पहलमा महाकाली नदीमा बन्न लागेको चार लेनको पक्की पुलको निर्माण कार्य रोकेर सधै जनतालाई परनिर्भर बनाउने खेलमा विपक्षी लागेको दाबी गर्दै पुलको डिजाइन परिवर्तन गर्छौ भनेर एमालेले घोषणापत्रमा लेख्नु पुल बन्न नदिने षडयन्त्र भएको उनको भनाइ छ ।
एमाले कञ्चनपुरले सोमबार महेन्द्रनगरमा सार्वजनिक गरेको स्थानीय घोषणा पत्रमा महाकाली नदीमा बन्न लागेको चार लेनको पक्की पुलको डिजाइन परिवर्तन गर्ने कुरा सार्वजनिक गरेपछि नेता लेखकसँगै दोधरा, चाँदनीका स्थानियवासी समेत आक्रोसित भएका छन् ।
नेता लेखकले एमालेले पुलको डिजाइन परिवर्तन गर्ने कुरा गरेर निर्माण भइरहेको पुलमा भाजो हाल्न लागेको आरोप लगाए । ‘डिजाइन स्वीकृत भइ ठेक्का समेत भएर काम अगाडि बढिसकेको पुलको डिजाइन परिवर्तन गर्ने भनेको के हो ? उनले प्रश्न गरे, ‘यो सिधै पुल बन्न नदिने षडयन्त्र हो ।’
डिजाइन परिवर्तनका कुरा गर्न थाले ठेकेदार अदालत गएर मुद्दा दायर गरे पुलको काम रोकिने अवस्था आउने भएकाले यस किसिमका विकास विरोधी गतिविधि रोकिनु पर्ने उनले बताए ।
सरकारले पुल निर्माणका लागि ३ अर्ब रुपैया विनियोजन गरिसकेको बताउँदै यति ठूलो बजेट विनियोजन गर्न आफूले ठूलो मेहनत गरेको स्मरण गरे ।
देशमा प्रजातन्त्र ल्याउने, शान्ति स्थापना गर्ने र संविधान बनाउने कार्यको नेतृत्व नेपाली कांग्रेसले गरेको स्मरण गर्दै नेपाली कांग्रेसकै नेतृत्वमा देश विकासले गति लिने भएकाले नेपाली कांग्रेसलाई विजय गराउन उनले आग्रह गरे ।
दोधरा, चाँदनीसँग कांग्रेस र कांग्रेससँग दोधरा, चाँदनी नजिक रहेको स्मरण गर्दै आफू सधै स्थानियवासीको साथमा रहने प्रतिवद्घता व्यक्त गरेका छन् ।
विकास देख्न नसक्ने विकास विरोधीहरुलाई मतदानबाट पराजित गर्न मतदातालाई आग्रह गरेका हुन् ।