बुधबार पोखरामा कांग्रेसको ‘विशाल चुनावी आमसभा’ हुने
सरिता तिम्सीना पगेनी,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
164
Shares
पोखरा। नेपाली कांग्रेस कास्कीले निर्वाचनलाई लक्षित गर्दै आगामी मंसिर १३ गते पोखरामा ‘विशाल चुनावी आमसभा’को आयोजना गर्ने भएको छ । आमसभाको तयारी भैरहेको कांग्रेस कास्कीले जनाएको छ ।
आमसभालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,गगन थापा,धनराज गूरुड,उद्योगपति बिनोद चौधरी लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको कास्की कांग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले जानकारी दिए । त्यस्तै आमसभामा कास्कीमा कांग्रेसबाट उम्मेदवारी दिएका प्रतिनीधि र प्रदेशसभातर्फका उम्मेदवारहरुले समेत सम्बोधन गर्नेछन् ।
आमसभामा कास्कीका तीन वटै क्षेत्रका सर्वसाधारणहरुको सहभागीता हुने नेपाली कांग्रेस कास्कीले जनाएको छ । ‘यो आमसभा चुनावलाई लक्षित गर्दै गर्न लागिएको हो । र, यसमा कास्कीका सबै क्षेत्रबाट सहभागीता हुनेछ ।’ भट्टराईले भने–‘निकै भव्य र हजारौँको संख्यामा सहभागीता हुने आमसभाको लागि तयारी निकै तिव्र पारिएको छ ।’
अमरसिंह चौरमा हुने आमसभामा ५० हजार भन्दा बढिको सहभागीता हुने कांग्रेस कास्कीको अनुमान छ । विशाल चुनावी आमसभाको सफलताको लागि कांग्रेस कास्कीले विभिन्न उपसमितिहरु गठन गरेर तयारीलाई तिव्र पारिरहेको छ ।