arrow

जनताले कामको मूल्यांकन गर्छन् : डा नारायण खड्का (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
dr_khadka.jpg

काठमाडौं ।  डा नारायण खड्का, नेपाली राजनीतिमा नौलो नाम होइन । लगातार दुई पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्तर्राष्ट्रिय सम्वन्ध भएका केही नेपाली राजनीतिज्ञ मध्येका एक हुन् । २०५६ सालको आम निर्वाचनमा उदयपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका खड्का झिनो मतले पराजित भएपछि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजनैतिक सल्लाहकार हुँदै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए ।

 सो समयदेखि उदयपुर जिल्लाको समग्र विकासमा निरन्तर जुट्दै आएका खड्का उदयपुर जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रको मुख्य समस्याका रुपमा रहेको त्रियुगा नदीमा पुल, त्रियुगा जनता क्याम्पसमा पूर्वान्चल क्षेत्रकै नमुना पुस्तकालय भवन, दर्जनौं विद्यालयमा भवन, जिल्लाका दर्जन बढी खहरे खोलामा पुल, खानेपानी, सडक निर्माण, विद्युत विस्तार लगाएतका जनताका अति आवश्यकीय पूर्वाधारहरु तयार गर्ने काममा निरन्तर लागिरहे ।

 पहिलो संविधानसभा निर्वाचनमा सगरमाथा अन्चलमै नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ निर्वाचित सभासद् बनेपछि जिल्लाको विकासका लागि अमेरिका, जापान, चीन, भारत लगायतका दर्जन बढी मुलुकका राजदुतलाई भ्रमण गराएर जिल्लावासीका थप आवश्यकता पूरा गराएका डा खड्काले उदयपुर क्षेत्र नं १ का साविकका प्रत्येक गाविसमा एम्बुलेन्सको व्यवस्था गरे र दोस्रो संविधानसभा निर्वाचनमा एमाले र माओवादी दुवैले पाएको मत भन्दा करीव ७ हजार बढी मत पाएर निर्वाचित भए । यही मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा डा खड्का सोही निर्वाचन क्षेत्रबाट पुन उम्मेदवार बनेका छन् । निर्वाचनकै विषयमा केन्द्रीत रहेर हाम्रकुरा र डा खड्कावीच भएको कुराकानीको केही अंश प्रस्तुत छ ।

वाम गठबन्धनको करीव १७ हजार मत बढी भएको अबस्थामा तपाईका चुनाव जित्ने आधारहरु के छन् ?

स्थानीय निर्वाचनको मतलाई अहिलेको निर्वाचनसँग दाँजेर हेर्न मिल्दैन । जनताले उम्मेदवार हेरेर मतदान गर्छन् । स्थानीय निर्वाचनमा स्थानीयको लोकप्रियताका आधारमा पनि धेरै मतदाताले मतदान गरे । कतिपय नाता सम्वन्धबाट पनि जेलिएका हुन्छन् र पार्टी नहेरी मतदान गर्छन् । म वितेका करीव २ दशक देखि निरन्तर यस क्षेत्रका जनताको सुखदुखमा सहभागी हुँदै आएको छु । यस क्षेत्रको विकासका लागि अहोरात्र खट्दै आएको छु र आफुले सकेसम्म शिक्षा, स्वास्थ्य, सडक यातायात, विद्युत, खानेपानी र अन्य भौतिक पूर्वाधारका क्षेत्रमा काम गरिरहेको छु । काम गर्नेलाई जनताले अबमूल्यन गरेको इतिहाँस कही छैन । त्यसैले मलाई यो निर्वाचनमा जनताले उचित मूल्यांकन गर्नु हुनेछ र म चुनाव जित्छु भन्नेमा ढुक्क छु ।

यी बाहेक अन्य आधारहरु पनि छन् ?

प्रदेश तहमा म जत्तिकै हेविवेट नेताहरु हुनुहुन्छ । प्रदेश नं १ मा यस अघि दुई पटक नेपाली कांग्रेसको सभापति भइसक्नु भएका बर्तमान सभापति विदुर बस्नेत जी हुनुृहुन्छ भने प्रदेश नं २ मा पूर्व समापति हिमाल कार्की हुनुहुन्छ । उहाँहरु पनि लामो समयदेखि जिल्लाको राजनीतिमा लागिरहनु भएको व्यक्तित्व भएकाले हाम्रो टिम मिलेको छ । यसका साथै केन्द्र र प्रदेश तहका समानुपातिक उम्मेद्वारहरु पनि पुराना र त्यतिकै लोकप्रिय हुनु भएकाले निर्वाचनमा सकारात्मक परिणाम आउनेमा कुनै शंका छैन ।

पार्टी भित्र असन्तोष व्यक्त गर्नेहरु पनि बाक्लै छन् भन्ने सुनिन्छ नी ?

निर्वाचनको समयमा टिकटको दावी गर्नु आम कार्यकर्ताको अधिकार हो त्यसको हामीले सम्मान गर्नुपर्छ । टिकट नपाएपछि केही समय कार्यकर्तामा केही खिन्नता हुनुलाई पनि म अश्वभाविक मान्दिन । तर यतिवेला उदयपुर जिल्लाको क्षेत्र नं १ का कुनै कार्यकर्ता र नेता साथीहरुमा कुनै असहयोग र खिन्नता छैन । सबै आ आफ्नो ठाउँबाट स्वस्फूर्तरुपमा निर्वाचनमा खटिरहनु भएको छ । विपक्षी पार्टीका साथीहरुले हामीलाई कमजोर बनाउन यस्ता केही भ्रमहरु बजारमा छोड्न थाल्नु भएको हामीलाई थाहा छ तर यसबाट हाम्रा कुनै पनि नेता र कार्यकर्ता साथीहरु बिचलित हुनुहुन्न । वाम गठबन्धनपछि हाम्रा कार्यकर्ता र नेता साथीहरुमा देखिएको उत्साह, जाँगर र एकताले पार्टीलाई अझ बलियो बनाउँदै लगेको मैले पाएको छु ।

मन्त्री हुँदा तपाइँलाई त्रिपाल खरिदमा घोटाला गरेको आरोप लाग्यो यसले निर्वाचनमा असर पार्दैन ?

हेर्नुस् नेपालमा भुकम्प जाँदा म स्तानवुलको एउटा अन्तर्राष्ट्रिय समिटमा मुलुकको प्रतिनिधित्व गर्दै वक्तव्य दिँदै थिए । भुकम्प गएको ९ दिन पछि मात्रै म नेपाल फर्किए । म आउँदा सम्म त्रिपाल खरिद गर्ने सबै प्रक्रिया अगाडि बढाइसकिएको थियो किनभने भूकम्पपीडित जनतालाई तत्काल राहत वितरण गर्ने काममा सरकार जुटेको थियो । म फर्किदासम्म टेण्डर आव्हान भैसकेको थियो र पछि स्वीकृत गर्नका लागि कर्मचारीले म कहाँ फायल ल्याएका थिए । तर मैले यस विषयमा मैले केही बुझेको छैन त्यसैले म सही गर्दिन तपाइँहरु आफै गर्नुहोला भनेर फर्काइदिए । त्यो फायलमा मेरो एउटा मात्रै सही कसैले देखाइदिन्छ भने म जे सजाय भोग्न पनि तयार छु । मेरो राजनैतिक चरित्र हत्या गर्ने उदेश्यले कसैले त्यो प्रपन्च रचेको रहेछ भन्ने कुरा मैले पछि थाहा पाएँ ।
 
यस विषयमा म अझै कुरा राख्न चाहन्छु । मैले त्रिपाल खरिदमा अनियमितता गरेको भनेर सामाजिक संजालमा पहिलो पोष्ट गर्ने व्यक्ति आदरणीय नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश थिए । उनको अप्रत्याशित स्वर्गबास भएको सुन्दा मलाई धेरै दुख पनि लाग्यो र सामाजिक संजालमार्फत शोक र समवेदना पनि व्यक्त गरे । पछि प्रकाशसँग मेरो ज्यादै घनिष्ठ सम्वन्ध भयो । उनी मलाई दाई भनेर बोलाउँथे । प्रकाशले मलाई एकदिन भनेका थिए– “दाई त्यो बेला हाम्रो खासै राम्रो सम्बन्ध पनि थिएन, हामी विपक्षमा थियौं, हल्ला चल्यो मैले फेसबुकमा हालेँ तर हैन रहेछ ।” उनको यो भनाईबाट पनि के पुष्टि हुन्छ भने त्यो मेरो प्रतिष्ठामाथि आँच पुर्‍याउने उदेश्यले कसैले चलाएको निराधार हल्ला र प्रपन्च थियो ।

एउटै व्यक्ति एउटै क्षेत्रमा ३-३ पटक लगातार चुनाव लड्दै हुनुहुन्छ अन्य कार्यकर्ता र नेताको पालो कहिले आउला ?

यो मेरो अन्तिम पटक हो । मैले हरेक ठाउँका मतदातालाई भन्ने गरेको छु कि म अब मेरा लागि मत माग्न आउँदिन । यस पटक जितेर गएपछि मैले सुरु गरेका मूख्य ३-४ ओटा काम मैले सक्नुछ । उदयपुरबासी जनताको प्रमुख समस्याका रुपमा दशकौं देखि थाँती रहेको त्रियुगा नदीलाई नियन्त्रण गरेर यहाँको उर्वराभूमिको संरक्षण गर्नुछ । कालिखोलादेखि सप्तकोसीसम्म दुवैतर्फ सडक निर्माण हुने बाँध बनाएर यहाँको हजारौं विघा खेतियोग्य जमिन उकास गर्ने मेरो मुख्य लक्ष्य छ । एअरपोर्ट निर्मांणको काम सम्पन्न गर्नुछ, बर्षौदेखि सुकुम्बासी बनेर बसेका आम नागरिकलाई उनीहरुले हक भोग गरेको जमिनको आवश्यक कानुन निर्माण गरेर जग्गा धनी प्रमाण पूर्जा बितरण गर्नुछ । आधा दर्जन बढी खहरे खोलामा पुलको व्यवस्था मिलाउनु पर्नेछ । यी बाहेक शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात लगाएतका क्षेत्रमा पनि केही काम गर्न बाँकी छन् । आगामी ५ बर्ष भित्रमा यी सवै काम सकेर बुढेशकाल बिताउने मेरो योजना छ । त्यसैले पनि मैले हरेक ठाउँमा मैले अन्तिम पटक मत माग्न आएको छु भन्ने गरेको छु ।

एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकिकरणलाई कसरी लिनु भएको छ ?

यो एकिकरण या तालमेल निर्वाचनसम्मका लागि हो भन्ने मेरो ठम्याई छ । निर्वाचन परिणामपछि दुवै पार्टी एक अर्काप्रति असन्तुष्ट बन्ने र एकिकरण अभियान टुंगिन सक्ने अबस्था सृजना हुनसक्छ । त्यसैले निर्वाचनपछि कांग्रेस र माओवादी केन्द्रको सरकार पनि बन्न सक्ने प्रशस्त सम्भावना म देख्छु ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ