एमालेका शतप्रतिशत कार्यकर्ताले प्रचण्डलाई बोकेर हिडेका छन् –चितवन एमाले अध्यक्ष
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
365
Shares
काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले कम्युनिष्टको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् ।
रिपोर्टस क्लब नेपालले गरेको चुनाव लक्षित विशेष साक्षात्कारमा बोल्दै एमालेका तर्फबाट उम्मेदवार बनेका पोखरेलले विगतमा कांग्रेसले तीन पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताउँदै अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरे ।
“नेपालीजनता एक पटक कम्युनिष्टहरुका शसन हेर्न आतुर भएको अवस्था छ ।” उनले भने ।
वामपन्थीको सरकार बन्यो भने लोकतन्त्र र स्वतन्त्रता खोसिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हाँस्यास्पद भएको उनको भनाई छ ।
आवधिक निर्वाचन, विधिको शाषन, स्वतन्त्र न्यायपालिका र मानव अधिकारको रक्षाका विषयमा आफूहरु प्रतिवद्ध रहने उनले बताए ।
लोकतान्त्रिक मूल्य र मान्यताका विषयमा कुनै सम्झौता नहुने उनले स्पष्ट पारे ।
चितवन जिल्लाको विकासका लागि आफूले धेरै काम गरेको दाबी गर्दै पोखरेलले अझै कामगर्न बाँकी रहेको स्विकार गरे ।
माओवादी अध्यक्ष प्रचण्डलाई राजनेताको रुपमा व्याख्या गर्दै चितवन एमालेका अध्यक्षसमेत रहेका पोखरेलले प्रचण्डलाई जिताउनका लागि लोकतान्त्रिक शक्तिसमेत लागि परेको दाबी गरे । प्रचण्डलाई चुनाव जिताएर चितवनलाई औद्योगिक नगरी र मेडिकल सिटीको रुपमा विकास गर्ने उनको भनाई थियो ।
एमालेका शतप्रतिशत कार्यकर्ताले प्रचण्डलाई बोकेर हिंडेको उनले बताए ।
पुषको पहिलो हप्ता एउटै कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्ने पोखरेलको दाबी छ ।
प्रचण्डलाई राजनेताको रुपमा स्विकार गरेको बताउँदै उनले प्रचण्डलाई चुनाव जिताउने जिम्मा आफूले लिने बताए । “उहाँको विजयलाई कुनै तागतले रोक्न सक्दैन । जनताले १५ हजारभन्दा बढि मतअन्तरले हराउँछन् भन्नेमा म विश्वस्त छु ।” पोखरेलले भने ।
आफ्ना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार शेषनाथ अधिकारीलाई आफूले दाजुका रुपमा सम्मान गर्ने बताउँदै पोखरेलले अधिकारीलाई १५ हजार मतअन्तरले हराउने दाबी गरे ।
“उहाँ प्रतिस्पर्धामा हार्नुहुन्छ । मलाई पूर्ण विश्वास छ । उहाँ स्वयम् बाहिरको मान्छे, यहाँको मतदाता समेत होइन ।” पोखरेलले भने ।