काठमाडौ। अपाङ्गता भएकाहरुले आफ्नो बर्गका लागि लक्षित छुट्टै मतदाता शिक्षा कार्यक्रम नभएको गुनासो गरेका छन् ।
अरु बर्ग तथा समुदाय भन्दा आफुहरु भिन्न अवस्थाका भएकाले आफुहरुका लागि छुट्टै कार्यक्रम हुनु पर्ने उनीहरुको भनाई छ ।
हाम्राकुरा डटकम र ईआइसिटीले संयुक्त रुपमा गरेको मतदाता शिक्षा सम्वन्धी निर्वाचन बहस कार्यक्रममा सहभागी अपाङ अगुवा तथा अधिकारकर्मीहरुले कतिपय व्यवस्था प्रचार प्रसारमा भएपनि व्यवहारमा नभएको टिप्पणी गरेका छन् ।
राष्ट्रीय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले मतादाता शिक्षा अपाङ्गता भएकाहरुलाई केन्द्रीत नगरिएको गुनासो गरे। उनले मतदान केन्द्रहरुमा अपाङग भएकाहरुलाई सिधै मतदान गर्न जाने व्यवस्था भएपनि घरबाट मतदान केन्द्रसम्म पुर्याउने व्यवस्था गर्न भने कम ध्यान दिइएको टिप्पणी गरे । गत १० गते भएको निर्वाचनमा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी सहानुभुती र चासो व्यक्त गरिएको बताए ।
राष्ट्रीय अपाङ्ग कोषका सभापति गोपाल बहादुर भण्डारीले अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा सेवा र राहत मात्रै दिए पुग्छ भन्ने मानसिकता धेरैमा रहेको भन्दै अधिकारका लागि कम प्राथमिकता दिइएको बताए। उनले सामाजिक सुरक्षासँगै राजनीतिक अधिकार पनि उत्तिकै दिनु पर्नेमा जोड दिए।
लोकतान्त्रीक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गता भएकाहरुलाई घर देखि मतदान केन्द्रसम्म पुर्याउने व्यवस्था पनि गर्न माग गरे । उनीहरुलाई मतदान केन्द्रमा लैजान परिवारका कतिपय सदस्यहरुले झन्झट मान्ने भएकाले अपाङ्गता भएका कतिपय व्यक्तिहरु मतदान गर्न बञ्चीत भएको बताए ।
अपाङ्गता सम्वन्धी अधिकारकर्मी विजय बजिमयले अपाङ्गता भएकाहरुलाई उम्मेदबार बनाउन दलहरुले अझै पनि कन्जुस्याई गरिरहेको टिप्पणी गरे ।
राष्ट्रिय अपाङ्ग महासंघकी उपाध्यक्ष टिका दाहालले अपाङता भएकाहरुलाई लाईनमा बस्नु नपर्ने वा छुट्टै लाईनको व्यवस्था भएको सूचना मतदान केन्द्रहरुमा पर्याप्त रुपमा नटाँसिएको तर्फ ध्यानाकर्षण गराएन।
कार्यक्रममा सहभागि काँग्रेसका यूवा नेता प्रगति रञ्जितले मतदातालाई जागरुक बनाउन हाम्राकुराले अभियानका रुपमा अघि बढाएको मतदाता शिक्षा कार्यक्रमको सह्राना गरे। उनले अपाङगता भएकासँगै अन्य व्यक्तिहरुलाई प्रभावकारी मतदाता शिक्षा दिन सके मत वदर हुने क्रम कम हुने बताए।
विवेकशिल साझा पार्टीका तर्फबाट काठमाडौं ७की प्रतिनिधि सभा उमेद्वार अनुपा श्रेष्ठले मतदाताकहाँ घरघरमा गएर मत माग्न गएपनि सदर हुनेगरि मत माग्न दलहरुले सिकाउन नसकिएको स्विकारिन। निर्वाचन आयोगले पनि प्रभावकारी रुपले मतदाता शिक्षा प्रदान गर्न नसकेको उल्लेख गर्दै उनले आफूहरुले पार्टीका तर्फ र उमेद्वारको हैसियतमा मतदातालाई सचेत बनाउने काम गरेको बताइन।
हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले विशेष गरि शहरी मतदातामाझ पुग्ने गरि अभियानका रुपमा मतदाता शिक्षाको कार्यक्रम लिएर जाने बताए।
अपाङ्गता सम्वन्धी विभिन्न संघसंस्थाका प्रतिनिधि, अपाङ्गता भएका व्यक्तिहरु, अधिकारकर्मी, अभियन्ता र पत्रकारहरु सहभागी थिए । (रासस)