युएईविरुद्ध खेल्ने नेपाली क्रिकेट टोली तयार, को–को अटाए ?
प्रकाशित २०७४ मंसिर ११ सोमबार
332
Shares
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईविरुद्धको अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।
अन्तिम चरणको खेल डिसम्वरमा हुँदै छ । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले टोली तयार पारेको हो ।
दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागि २० खेलाडीबाट अन्तिम टोली छनोट गरिएको नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले बताए ।
यो टोलीमा हङकङविरुद्धको खेलमा नरहेका स्पिनर शक्ति गौचन टोलीमा अटाएका छन् भने, त्यही टोलीमा परेका सुशील कँडेल बाहिरिएका छन् । यस्तै दीलिप नाथ पनि १४ जनाभित्र अटाएका छन् ।
२० सदस्यीय सूचीमा परेका सुशीलसँगै हसिम अन्सारी भने बाहिरिएका छन् । कुशाल भुर्तेल, जितेन्द्र कुमार मुखिया, सिद्दान्त लोहली र १९ वर्षमुनिको टोलीका अनिल कुमार शाह वैकल्पिकभित्र छन् ।
वैकल्पिकमध्ये अनिल र कुशल नेपाली टोलीसँगै अतिरिक्त खेलाडीको रुपमा युएई जाने बताइएको छ ।
नेपाली टोली वुधबार एत्तिहाद एअरवेजबाट युएई जानेछ । युएई टूरमा नेपालले अमेरिका र केन्यासँग डिसेम्वर १ र ३ मा अभ्यास खेलसमेत खेल्ने तालिका छ ।
सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अवुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ ।