माओवादी केन्द्रका वडाध्यक्ष सहित दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश
प्रकाशित २०७४ मंसिर ११ सोमबार
924
Shares
बारा । महागढीमाई नगरपालिका वार्ड नं. ९ को माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका पिन्टु भन्ने शशिकान्त मिश्रा सहित दर्जनौ नेपाली कांग्रेसमा प्रवेश गरेका छन । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि मिश्रा माओवादी केन्द्रबाट टिकट पाएर विजयी भएका थिए ।
मिश्रालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार राधेचन्द्र यादवले टिका लगाएर पुनः नेपाली कांग्रेसमा भित्रयाउन सफल भएका हुन । मिश्रा सँगै वडा सदस्यमा विजयी भएका पहलाद राउत कुर्मी सहित दर्जनौ माओवादी केन्द्र र मधेशवादी दलका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन ।
आयोजना गरिएको पार्टी प्रवेश तथा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता यादवले मधेशी समुदायको हक अधिकार दिलाउने एकमात्र पार्टी नेपाली कांग्रेस रहेकोले अन्य पार्टीले मधेशी समुदायलाई प्रयोग मात्र गरिरहेको बताए । मधेशी समुदाय सधै कांग्रेस पार्टीको साथमा रहेकोले अब पनि मधेशी समुदाय कांग्रेस सँगै रहनु पर्ने समय आएको बताए ।
बाम गठबन्धन र मधेशवादी गठबन्धन दुबै देशको लागि खतरा रहेकोले ती पार्टीका उम्मेदवार सँग सतर्क रहनु पर्ने नेता यादवले सुझाए । अहिले देश बामपन्थी र लोकतान्त्रिक गरी दुई कितामा मात्रै रहेको अवस्थामा लोकतन्त्रको लागि पनि मधेशी समुदाय कांग्रेसलाई नै भोट दिएर लोकतन्त्रलाई स्थापित गरी राख्नु पर्नेमा जोड दिए ।
अहिले हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनाव पहिलाको जस्तो नभएर देशमा कम्यूनिष्ट शासन लादन खोज्ने बाम गठबन्धन र लोकतन्त्रलाई कायम राख्ने लोकतान्त्रिक गठबन्धन बीचको लडाई भएको उनले बताए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार रामप्रवेश यादवले नेपाली कांग्रेस सधै देशमा लोकतन्त्रको लागि लडेको पार्टी भएकोले अहिलेको अवस्थामा जनताहरुले कांग्रेसलाई भोट दिनु पर्ने बताए ।
कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका वडाध्यक्ष मिश्राले मधेशी जनताको हक अधिकार दिलाउने कार्यमा कांग्रेस बाम गठबन्धन भन्दा राम्रो पार्टी भएको बताए । मिश्राले देशमा लोकतन्त्रलाई बचाई राख्नको लागि आफूहरु पुनः कांग्रेसमा आएको र अब यस क्षेत्रबाट कांग्रेसका प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुलाई जिताएर देखाउने प्रतिबद्धता गरे ।
कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव, कार्यक्रम संचालक मोतिलाल कुशवाहा, भैयाराम यादव लगायतकाले चुनावको बेलामा भोट लिनको लागि मधेशी दलको नाउँमा भोट माँग्न आउने सँग सतर्क रहन जनतालाई आग्रह गरे ।
मधेशी दलहरुले मधेशी जनताको नाउँमा आफनो स्वार्थ मात्र सिद्ध गरिरहेकोले त्यस्ता उम्मेदवारहरुलाई समयमा चिन्नु पर्ने तर्क उनीहरुले गरे ।