arrow

जाजरकोटका सबै मतपेटिका मंगलबारसम्म सदरमुकाम पुग्ने

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
matpatra1.JPG

जाजरकोट । यहाँका सबै मतदान केन्द्र र स्थलबाट मतपेटिका सदरमुकाम ल्याउने काम शुरु भएको छ । 

जिल्लाका जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र शिवालय गाउँपालिकाका केही वडा सदरमुकामभन्दा धेरै टाढा हुनुका साथै सडक सञ्जालसँग नजोडिएका कारण यहाँबाट मतपेटिका सदरमुकाम ल्याउन ढिला हुने देखिएको छ । 

सडकको पहुँच नभएका ठाउँमा हेलिकप्टरमार्फत सदरमुकाम ल्याउनका लागि आग्रह गरिएको र मंगलबार दिउँसोसम्ममा सबै मतपेटिका सदरमुकाम ल्याइने जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । 

सडक सञ्जालसँग जोडिएका छेडागाड नगरपालिका, भेरी नगरपालिका, त्रिवेणी नलगाड नगरपालिकाबाट मतपेटिका सदरमुकाम ल्याउने काम जारी रहेको छ । 

आइतबार राति अध्याँरो र चिसोका कारण मतपेटिका प्रहरी चौकीसम्म ल्याउने काम भएको र सोमबार सदरमुकाम ल्याउने काम हुने जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले बताए । 

बेलुका ८ः०० बजेदेखि बिहान ८ः०० बजेसम्म यहाँका गाउँमा रहेका टेलिफोन टावरले काम नगर्ने भएका कारण सूचना संकलन गर्न समस्या हुने गरेको छ । 

नेपाल प्रहरीको सेटले पनि रातिको समयमा काम नगर्दा जाजरकोटको दुर्गम गाउँमा सूचना छिटोछरितो तरिकाले दिन निकै चुनौती भएको पाइएको छ । 

जाजरकोटमा ७२.२२ प्रतिशत भोट खसेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । 

यहाँका पूर्व तथा पश्चिमका अधिकांश ठाउँमा चिसोका कारण मतदाता मतदान केन्द्रसम्म आएर मतदान गर्न ढिला गरेका थिए । स्थानीय तहमा भएको चुनावभन्दा यसपटकको चुनावमा मतदातामा उत्साह कम देखिएको पाइएको छ । 

आइतबार रातिसम्म १४ स्थलको मात्र मतपेटिका सदरमुकाम आइपुगेको छ । वटा ११६ वटा मतदान केन्द्र र ८५ वटा स्थलमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको जाजरकोट प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ