arrow

शशांक कोइरालाको विश्वासः वीपी रहेको भए केपी ओली कांग्रेस हुन्थे

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
sashank-koi-mn.jpeg

दलदले ।  नेपाली कांग्रेसका महामन्त्री एवम् नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाका सदस्य उम्मेदवार प्राडा शशांक कोईरालाले आफ्ना पिता अहिलेसम्म जीवित रहेको भए एमाले अध्यक्ष केपी ओली कांग्रेस हुने बताएका छन् । 
 
ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला वीपी, गणेशमान लगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आइतबार नवलपुरको दलदलेमा पत्रकार भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन् । 
 
वीपी कोइरालालाई उनी जीवित रहुञ्जेल गाली गलौज गर्ने तात्कालिन पञ्चायतका कार्यकर्ता र कम्युनिष्ट नेताहरुले उनले आफूले भोगेको घटनाका बारेमा राखिएको अभिलेखलाई आत्मवृतान्त र जेल जर्नल जस्ता पुस्तकका रुपमा बाहिर आएपछि के पी ओली र प्रचण्ड जस्ता नेताहरुले पनि नेपालमा सबैभन्दा मन पर्ने नेताको रुपमा उनको नाम लिएको पनि उनले बताए ।
 
एक अर्को प्रसंगमा कांग्रेस महामन्त्री कोइरालाले कम्युनिष्टहरुले अधिनायकवादी शासन स्थापना गर्ने दम्भ प्रदर्शन गरेको र टुंगो लागिसकेको राजनीतिक व्यवस्थालाई पुनः अस्थिरतामा लैजान संकेत गरेकोले कम्युनिष्ट पार्टीभित्रका उदारवादी कार्यकर्ताहरु देशव्यापी रुपमा नेपाली कांग्रेसमा प्रवेश गरिरहेको पनि बताए ।
 
दैनिक सयौंको संख्यामा अन्य पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेको घट्नाले आफूलाई उत्साहित बनाएको पनि कोइरालाले बताए ।
 
उनले कम्युनिष्ट गठबन्धनले अहिले नै देशमा अधिनायकवाद ल्याउन नसक्ने भन्दै थपे, “उनीहरुले दुई तिहाई पुर्याउन सक्दैनन् ।”
 
कम्युनिष्ट गठबन्धनले गर्दा पार्टी एकढिक्का भएर चुनावमा होमिएकोले नेपाली कांग्रेसलाई फाईदा पुगेको उनले दावी गरे ।
 
महामन्त्री कोईरालाले कांग्रेसलाई यथास्थितिबादी भनेर लगाएको आरोपको प्रतिवाद गर्दै प्रश्न गरे, “परिवर्तन ल्याउने कांग्रेस यथास्थितिवादी हुने, विश्वबाटै समाप्त हुँदै गएको कम्युनिष्ट कसरी परिवर्तनकारी हुन्छ ?”
 
गरिबलाई गरिब नै राखेर कम्युनिष्टहरुले राजनीति गरेको भन्दै कोइरालाले भने “हामी सबैलाई धनी बनाउँछौं त्यो समाजवादमा हुन्छ ।” राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कांग्रेसको चिन्तन भएको भन्दै उनले यसले नै देशको समग्र विकास हुने बताए ।
 
डा कोईरालाले भने “शुरुमा गठबन्धनले हामी झस्किएका थियौं,  तर अहिले देशभरी कांग्रेसको पकड विस्तार हुँदै गएको छ, सबैभन्दा ठूलो पार्टी कांग्रेस हुन्छ ।”
 
स्थानीय निर्वाचनमा  पार्टीभित्र देखा परेका केही त्रुटीलाई यसपटक सच्याएर अघि बढेकाले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको पनि उनले बताए ।
 
एक फरक प्रसंगमा उनले अदृश्य शक्तिलाई चलखेल गर्न दिन नहुने बताउदै भने “राष्ट्र नेपालीले नै हाक्नुपर्छ ।”

अब तपाई यो देशको प्रधानमन्त्री बन्ने सम्भावना छ भन्ने प्रश्नमा उनले भने “सम्भावना छ, तर शेरबहादुरजी, रामचन्द्रजी हुनुहुन्छ, सबैको सल्लाहमा म पनि हुनसक्छु ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ