लोकतन्त्रवादी व्यवसायीद्धारा कांग्रेसलाई मतदान गर्न आह्वान
प्रकाशित २०७४ मंसिर १० आइतबार
448
Shares
काठमाडौ। लोकतन्त्रवादी बुद्धिजीवी तथा पेशागत व्यवसायीहरुको काठमाडौंमा भएको एक भेलाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा लोकतन्त्रप्रति सदा प्रतिबद्ध र नेपालको समग्र विकास तथा आर्थिक समृद्धिप्रति समर्पित नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई विजयी बनाउन सम्पूर्ण मतदाताहरुलाई आह्वान गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरमा भएको सो भेलापछि जारी गरिएको अपीलमा भनिएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनको एक मात्र अग्रणी पार्टी नेपाली काँग्रेस हो भन्नेमा दुई मत छैन। २००७ सालमा राणा शासनको अन्त्य गर्न गरेको आन्दोलन नेपाली काँग्रेस एक्लैको प्रयास थियो। २०३६ सालको जनमत संग्रहमा लोकतन्त्रका पक्षमा जनमत सिर्जना गर्ने काम नेपाली काँग्रेसले नै गरेको हो। २०४६ सालको जन आन्दोलन र २०६२/६३ को संयुक्त जनआन्दोलन नेपाली काँग्रेसकै नेतृत्वमा सम्भव भएको हो। नेपालमा गणतन्त्र स्थापना पनि काँग्रेसकै प्रतिवद्धता र नेतृत्वमा सम्भव भयो। यस अर्थमा नेपाली काँग्रेस लोकतन्त्रको पर्याय बन्दै आएको छ।”
लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि भएका आन्दोलनमा नेपाली नागरिकले आफूलाई लोकतन्त्रका पक्षमा उभ्याएको उल्लेख गर्दै उक्त संयुक्त अपिलमा भनिएको छ,“नेपाली नागरिकले जसरी हिजो कसैको दासत्व वा अधीनस्थ स्वीकार गरेन, त्यसरी नै कुनै पनि खाले तानाशाही वा अधिनायकवादका विपक्षमा आफूलाई उभ्याउँदै आएको छ। आम नेपाली नागरिकको यो चाहनाको सम्मान गर्नु सबै नागरिकको कर्तव्य र दायित्व भएको छ।”
“नेपाली नागरिकले निर्वाचित गरेको संविधानसभाले बनाएको नेपालको संविधान २०७२ ले बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्रको परिकल्पना गरेको छ ” अपीलमा भनिएको छ,“ अहिलेको सन्दर्भमा यो नै आम नेपालीको चाहना हो।”
पछिल्लो समयमा नेपाली राजनीतिमा भएको ध्रुवीकरणको उल्लेख गर्दै यसबाट संविधानले प्रत्याभूत गरेका आम नागरिकका आभारभूत मौलिक अधिकारमाथि नै चुनौती आउन सक्ने बताउदै अपिलमा भनिएको छ, “संविधानमा आमूल परिवर्तन गरेर व्यवस्था नै बदल्ने र पचास वर्षसम्म एकछत्र शासन गर्ने जस्ता चाहनाले नेपालीको अथक प्रयासबाट बनेको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान र नागरिकको लोकतन्त्रको चाहनामाथि खेलवाड हुने खतरा बढेको छ।” बुद्धिजीवीहरुले नयाँ पुस्ताले गरेको अपेक्षा नेपालका राजनीतिक दलले पूरा नगरेका कारण सिर्जित आक्रोशको मार लोकतन्त्रमाथि नै पर्ने खतरा बढेको उल्लेख गर्दै लोकतन्त्रको सम्वद्र्धनबाट मात्र युवाहरुको आक्रोश सम्वोधन गर्न सम्भव भएको बताइएको छ।
अपीलमा अब नेपालमा लोकतन्त्र र अधिनायकवादकाबीच सोझो लडाई हुने खतरा बढेको जनाउदै भनिएको छ,“ युवा पुस्ताले फेरि पनि मतदान गर्न पाउने अधिकार सुरक्षित गर्न मुलुकको ठैूलो लोकतान्त्रिक दललाई मतदान गर्नु नै पर्ने अवस्था सिर्जना भएको छ। विगतमा नेपाली काँग्रेस आफ्ना प्रतिवद्धतालाई दृढतापूर्वक कार्यान्वयन गर्न पटक पटक चुकेकै हो। तथापि लोकतन्त्रका मूल्य र मान्यतालाई बोकेको नेपाली काँग्रेसले विगतका कमी कमजोरीलाई सच्याउँदै लैजाने छ भन्ने बिश्वास लिएका छौं।”
अपिलमा भनिएको छ, “यस परिप्रेक्ष्यमा हामी विभिन्न पेशा र व्यवसायमा संलग्न नागरिकहरु मुलुकमा लोकतन्त्रको संस्थागत विकास र संविधानले परिकल्पना गरेको सामाजिक साँस्कृतिक सदभाव र सम्बृद्धि सहितको राष्ट्रनिर्माण नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव छ भन्ने निश्कर्र्षमा पुगेका छौं। ”
लोकतन्त्रवादी व्यवसायी र बुद्धिजीवीहरुले निर्वाचनलाई नै बिथोल्ने गरी भइरहेका हिंसात्मक गतिविधि नियन्त्रण गरी निर्वाध रुपमा मतदान गर्ने अवस्था सिर्जना गरी आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गर्दै भन्नुभएको छ, “प्रतिनिधिसभा र प्रदेश सभाका लागि हुन लागेको निर्वाचनमा लोकतन्त्रको सम्वाहक नेपाली काँग्रेस पार्टीलाई विजयी गराउन आम मतदाता, सबै पेशा र व्यवसायका नागरिक तथा प्रवुद्ध वर्गमा हार्दिक अपील गर्दछौं। ”
राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्मा, पूर्व मुख्य सचिव डा. विमल कोइराला त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनिया, पूर्व सचिव विश्वप्रकाश पण्डित, पूर्व गभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्व राजदूत डा.दुर्गेशमान सिंह, नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष प्रमेबहादुर खड्का, कलाकार भूमिका श्रेष्ठ, प्रा.मधुरा कार्की, पूर्व राजदूत शम्भुराम सिंखडा,पूर्व प्रशासक टीकादत्त निरौला, प्रा.डा पुष्कर बज्राचार्य, व्यवसायी दिव्यमणि राजभण्डारी, नेपाल इञ्जिनियर्स एशोसियनका अध्यक्ष हरेराम श्रेष्ठ, साहित्यकार तथा पत्रकार हरि अधिकारी, प्रा. डा. खगेन्द्र भट्टराई लगायतले संबोधन गर्नुभएको सो भेलामा झण्डै डेढसय जति अग्रणी र ख्याति प्राप्त व्यवसायी तथा बुद्धिजीवीहरु सहभागी थिए।