२ मतदान केन्द्रमा आगजनी, दर्जनको हाराहारीमा वम पड्काइयो
प्रविर ददेल ।
प्रकाशित २०७४ मंसिर १० आइतबार
799
Shares
रुकुम । रुकुमका दुई स्थानमा मतदान स्थगित भएको छ । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ५ मा रहेको रत्न मावि काँडा ‘क’ र आठविसकोट नगरपालिका ११ स्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालय गत्तासैना ‘ख’ मतदान केन्द्रमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिकामा आगो लगाएका हुन् ।
मतपेटीका सहित मतपत्र जलेपछि दुवै स्थानमा मतदान स्थगित भएको मुख्य निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।
बाफीकोटस्थित रन्त मा.वि.मा झण्डै २ सय ५० मत खसिसकेको अवस्थामा प्रतिनिधीसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपेटिका पुर्ण रुपमा जलेको छ ।
घटनास्थलमा प्रहरी पुग्दा करिब ९० प्रतिशत मतपत्र जलेको अवस्थामा भेटिएको थियो । उता आठविसकोट नगरपालिकामा कति मत नष्ट भएको छ भन्ने एकीन भईनसकेको जिल्ला निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ ।
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका ४ जनालाई प्रक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिरहेको छ । घटनापछि अहिले मतदान कार्य स्थगित भएको छ ।
त्यस्तै रुकुमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीको हिमालय मावि मतदान केन्द्रमा एसिड राख्न गएकी एक महिला पक्राउ परेकी छिन् ।
एसिड बोकेर मतदान स्थलतर्फ गएकी स्थानीय २६ वर्षीया रुपा कामीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी रुपामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
यसअघि रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका–७, मा रहेको मनकामना प्राथमिक विद्यालय चुर्तीपाखा मतदानस्थल र वडा नम्बर –८, बयलडाँडामा रहेको बयलीगाउँ प्राथमिक मतदान केन्द्र नजिकै बम विस्फोट भएको थियो ।
चुर्तीपाखाँमा तीन वटा र बयलडाडाँमा दुईवटा गरी पाँचवटा बम विष्फोट गराइएको स्थानीयबासिन्दाले जनाएका छन् ।