पहिलो चरणमा ७०२ उम्मेदवारलाई झण्डै ३२ लाखले भोट हाल्दै, तयारी पूरा
प्रकाशित २०७४ मंसिर ९ शनिबार
356
Shares
काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा ३२ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रदेशसभातर्फ ७४ र प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदैछ । पहिलो चरणमा सात सय दुई उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
३१ लाख ९१ हजार नौ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । मतदानका लागि दुई हजार नौ सय १९ मतदान स्थलभित्र चार हजार चार सय ६५ मतदान केन्द्र राखिएको आयोगले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले, ‘आइतबार (भोलि) बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनु भई मतदानमा सरिक हुन हार्दिक अनुरोध गर्छु ’–भने ।
७ बजे विहान सुरु भएको मतदानप्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ । प्रमुख आयुक्त यादवले ५ बजेभित्र मतदानस्थलमा छिरिसकेका मतदाताले मत खसाल्न पाउने बताएका छन् ।
अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त तथा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन मतदान अधिकृतलाई निर्देशन दिइएको यादवले बताए ।
स्थानीय तहको चुनावमा जस्तै कुनै कारणले मतदाता परिचयपत्र नभए नागरिकता, २०७० सालमा जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाइनेछ ।