arrow

केपी कमरेड तपाइ बहसका लागि तयार हुनुहुन्छ ?

केपी ओलीलाई खुल्ला पत्र

logo
सुस्मित मिलन,
प्रकाशित २०७४ मंसिर ९ शनिबार
kp-ili.jpg.jpeg

प्रिय ओली कमरेड
अभिवादन !

देशमा चुनावको गर्मी चढिरहेको छ । तपाईको व्यस्त दैनिकीलाई म राम्ररी बुझ्दछु । सायद तपाईंलाई पत्र पढ्ने फुर्सद नहुन सक्छ । आशा छ तपाईंका सहयोगीहरुले यो पत्र पढ्ने समय मिलाइदिने छन् ।

बाम गठबन्धन भएदेखि तपाईका भाषण सुन्नेहरुले अनुमान लगाई रहेका छन् अब तपाईसंग सिद्धान्त भन्ने जिनिस बाँकी रहेन । मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद तपाईंका लागि प्रधानमन्त्री बन्ने राजमार्ग मात्रै भयो । अझ मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनालाई हत्याको आशंका गर्दै आफूहरु सत्तामा पुगे यो घटनाको दोषी सार्वजनिक गर्ने तपाईको भाषण सुन्नेहरुले के सोचिरहेका होलान्? 

मदनको निधनपछि उमेद्वार बनेकी उनकी धर्मपत्नी विद्याको सेतो सारीमा रातो रङ छर्कन लगाएर त्यसको दोष नेपाली काँग्रेसलाई लगाएको सार्वजनिक गर्ने केशव स्थापित अहिले तपाईकै निकट सहयोगी बनेर त्यस्तै कैयौं अतिरन्जित चुनावी चलखेलमा व्यस्त छन् । जसरीपनि चुनाव जित्नैपर्ने हीन मानसिकताका दास बनेर तपाईले कस्तो समाजको परिकल्पना गर्नु भएको छ ? उदेक लाग्छ ।

ओली कमरेड !
तपाईलाई कसै कसैले राष्ट्रवादी भनिदिंदा खित्का छुट्दो हो, हैन ? भारतले नाकाबन्दी गरेर नागरिक पीडामा परेका बेला आफ्ना कार्यकर्तालाई भारतबाटै तेल र ग्यासको तस्करी गर्न लगाएर नागरिकको मान मर्दन गर्ने व्यक्ति नै हुने हो राष्ट्रवादी ? अथवा आफ्ना छिमेकी मुलुकसंग कुटनैतिक माध्यामबाट देखिएका समस्यामा समाधानको पहल गर्न छाडेर दुवै देशको सम्बन्धलाई कमजोर बनाउने व्यक्तिनै हुने हो राष्ट्रवादी ? जिन्दगीभरि भारत परस्त नेताको ‘सुयोग्य नाम’कमाएका तपाईलाई कति सहजै राष्ट्रवादी बनाई दिए कार्यकर्ताले ? ग्याँस र तेलको तस्करी धन्दाले खल्ती भरेका कार्यकर्ताको यो भन्दा ठूलो पुरस्कार तपाईको जीवनमा के नै हुन्थ्यो र हैन ? 

चुनावको सिलसिलामा तपाईले बोलेको सुन्दा आश्चर्यभन्दा बढी तपाईप्रति दया लागेर आउँछ ।  

नेपाली नागरिकले खाइनखाई तिरेको करबाट संकलित करोडौं रुपयाँ तपाईको उपचारमा खर्च भएको छ । नेपाली नागरिकको रगत पसिना परेको छ तपाईलाई बचाउन । तर तपाई नै नेपालमा सुलभ र सस्तो उपचार पद्धतिका लागि मेडिकल माफियाका विरुद्ध तेह्रौं पटकसम्म अनशन बसेका डाक्टर गोविन्द केसीका विरुद्ध विष बमन गर्न थाल्नु भएको छ । धम्क्याउन थाल्नु भएको छ । वर्तमान सरकारले गरेका निर्णयहरु उल्ट्याउने भाषण गर्न थाल्नु भएको छ । तपाईकै पार्टीका नेताको लगानीमा चलेको अस्पतालका लागि तपाई जे गर्नपनि तयार देखिनु भएको छ । तपाईलाई नेपाली नागरिकको स्वास्थको भन्दा धेरै गुणा आफ्ना भ्रष्ट नेता कार्यकर्तालाई रिझाउनु छ । म पत्याउँछु कमरेड तपाईको शव्दावलीको राष्ट्रवाद यही भ्रष्ट बन्नुमा छ ।

कमरेड !
तपाईले पोखरामा पुगेर भन्नु भएछ । वीपी कोइराला बाँची रहेको भए एमालेमा प्रवेश गर्ने थिए भनेर । अब जिउँदाको हैन निधन भइसकेका नेताहरुको नाम लिएर राजनीति गर्न थाल्नुभएको छ। तपाइको बौद्धिक दिवालियापन देखेर टीठ लागेर बएको छ कमरेड ! म ढुक्कसंग भन्न सक्छु वीपी कोइरालाकै कारण तपाईहरु वामपन्थी भएर गफ हाँक्ने हुनु भएको छ । यथार्थ के चाहिं हो भने वीपी बाँचीरहेको भए एमाले भन्ने पार्टी नै हुने थिएन । आज तपाई भारतकै कुनै नेताको दलाली गरेर मेची किनारमा ‘भन्सार एजेन्ट’बनेर बस्नु हुने थियो वा आफ्ना अग्रज नेताजस्तै पञ्चायतको घिउभात खाएर सुपारी तस्करीको हिरो हुनु हुने थियो ।  धन्न ! आज एउटा पार्टीको अध्यक्ष बन्नु भएको छ । र, त मन लाग्दो बोलीरहन पाउनु भएको छ । 

तपाईलाई लाग्दो हो मन लाग्दो बोल्नु लोकतन्त्रको सुन्दर पक्ष हो । होइन कमरेड ! अरुको सम्मान गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो । सभ्य शिष्ट र मर्यादित हुनु लोकतान्त्रिक बन्नु हो । तर तपाईलाई हामीले कहिल्यै सभ्य र मर्यादित भएको पाएनौं । हुन त तपाई कहिले पो लोकतान्त्रिक बन्नु भयो र होइन ? सधैं पहाड र तराई विचमा फाटो ल्याएर जथाभावी बोल्ने सन्काहा मान्छे कसरी लोकतान्त्रिक बन्न सक्छ र होइन ? 

मलाई तपाईसंग सैद्धान्तिक बहस गर्न मन छ । के तपाइ यसका लागि तयार हुनुहन्छ ?

तपाईंको 
सुस्मित मिलन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ