देउवा भन्छन्– ‘काँग्रेस नै हो जनताको सुख दुःखमा साथ दिने पार्टी’
प्रकाशित २०७४ मंसिर ९ शनिबार
129
Shares
बुटवल । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताको सुख दुःखमा साथ दिने पार्टी नेपाली काँग्रेस मात्र भएको बताएका छन् ।
रुपन्देही क्षेत्र नं १ अन्तर्गतको लोकतान्त्रिक गठबन्धनको निर्वाचन क्षेत्रीय प्रचारप्रसार कार्यालयको देवदहमा उद्घाटन गर्दै सभापति देउवाले ‘विश्वभर हराउँदै गएको कम्युनिष्ट शासन मुलुकमा ल्याउने निहुँमा गरिएको वाम गठबन्धनको’ कुनै औचित्य नभएको बताउँदै ‘जनतालाई दुःख दिने, तर्साउने तथा वाक स्वतन्त्रताको अधिकारलाई कुण्ठित पार्ने कम्युनिज्म’लाई कुनै पनि शर्तमा जनताले नस्वीकार्ने जिकिर गरे ।
उनले बुद्धमावली देवदह क्षेत्रको विकासका लागि सरकारले छिट्टै गुरुयोजना बनाउने जानकारी दिँदै गौतम बुद्धसँग सम्बन्धित देवदह क्षेत्रको विकास लुम्बिनीसरह नै गर्न देवदह विकास कोष स्थापनाको आवश्यकता औँल्याए ।
कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘राष्ट्रलाई द्वन्द्वमा फसाउने कम्युनिष्टहरुको गठबन्धन’ राष्ट्रहितका लागि हुनै नसक्ने टिप्पणी गरे । उनले मुलुकमा कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास गरेर सुकिला किसान बनाउने अवधारणालाई काँग्रेसले अगाडि सारेको बताए ।
काँग्रेस रुपन्देही क्षेत्र नं १ निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिका संयोजक हीराबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेवार अब्दुल रज्जाकले मुलुकको निकास र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरे । कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार ताहिर अलि, काँग्रेस देवदहका सभापति गुनाखर भुर्तेल, क्षेत्रीय सचिव बैजनाथ साहनीलगायतले आआफ्ना विचार राखे ।–रासस